कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्ला भित्रका सबै स्थानीय तहलाई छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न पत्राचार गरेको छ।
छाउपडीमा बसेकी कृष्णपुर नगरपालिका–१ निगाली टोलकी २८ वर्षीया कमला दमाईको सर्पदंशबाट मृत्यु भएपछि प्रशासनले आज पत्राचार गरेको हो । कमला दमाईको सर्पदंशबाट शनिबार राति मृत्यु भएको थियो ।
सोमबार प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा कञ्चनपुरका ७ नगरपालिका र २ गाउँपालिकालाई सामुदायिक रूपमा जरा गाडेर बसेको यो कुप्रथा अन्त्य गर्न ‘विशेष अभियान’ सञ्चालन गर्न भनिएको छ।
पत्रमा भनिएको छ–‘महिनावारीको समयमा छाउपडी गोठमा सुतिरहेकी महिलाको मृत्यु जस्तो दुखद घटना दोहोरिन नदिन परम्परागत रुपमा चलिरहेको कुप्रथा उन्मूलन गर्न विशेष अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ।’
प्रशासनले भीमदत्त, दोधारा चाँदनी, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका तथा बेलडाँडी र लालझाडी गाउँपालिकालाई आवश्यक निर्णयसहित छाउगोठ भत्काउने कार्य तत्काल सुरु गर्न अनुरोध गरेको हो।
यसअघि आइतबार कृष्णपुर नगरपालिले नगरभित्र रहेका छाउ गोठ १५ भित्र भत्काउन निर्देशन दिएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले निर्देशनपत्र जारी गर्दै छाउ गोठ भए नभएको निरीक्षण गर्न १–९ सम्मका सबै वडा कार्यालयलाई निर्देशन दिएका हुन्।
पत्रमा भनिएको छ–‘कृष्णपुर नगरपालिकाअन्तर्गत केही वडाहरूमा अझै पनि छाउपडी प्रथा कायम रही गोठसमेत यथावत भएकोले आ–आफ्नो वडाभित्र रहेका छाउपडी गोठहरू निरीक्षण गरी १५ दिनभित्र छाउपडी गोठहरू भत्काउने र उक्त कार्यकान्वयनमा नल्याए कानुनी कारबाहीसहित १० हजार जरिवाना हुने व्यहोरासमेत सम्बन्धितहरूलाई जानकारी गराउनहुन आदेशानुसार अनुरोध छ ।’