म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनिएको छ ।
आज दिउँसो खसेको पहिरो नदीमा थुप्रिएर तलाउ बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए । त्यहाँ निरन्तर पहिरो खसिरहेको छ ।
धौलागिरि गाउँपालिका ४ र ७ को सिमाना काउसीबोटको भिरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर थुनिएको हो । बिहान भारी वर्षापछि बढेको म्याग्दी नदीको सतह पहिरोपछि घटेको छ ।
नदी थुनिएपछि तटीय क्षेत्रका बस्तीहरुमा सतर्कता अपनाइएको छ । छहरी, कल्लेनी, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिंगा र बेनी बजार म्याग्दी नदीको तटीय क्षेत्रका बस्तीहरू हुन् ।
ती सबै तटीय बस्तीहरुमा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरसहित जनप्रतिनिधि र ताकम प्रहरीचौकीबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थल पुगेपछि तलाउको आकारबारे भन्न सकिने अध्यक्ष पुनले जानकारी दिए।