काठमाडौं । छिमेकी मुलकु चीनतर्फबाट आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीमा परेर हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
हराइरहेका मध्ये ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन्। उद्धार कार्य जारी रहेको र अहिलेसम्म ५५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बाढीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये गोसाइँकुण्ड गाउँपालिका १, २, ३, आमाछोदिङ्मो गाउँपालिका १, २, ४, ५ र उत्तरगया गाउँपालिका २, ४, ५, तथा कालिका गाउँपालिका १ रहेका छन्।
बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुल पनि बगाएको छ। त्यस्तै ईभी चार्जिङ स्टेशन पूर्ण रुपमा ध्वस्त भएको छ।
भन्सार कार्यालय र ट्रान्सपोर्ट यार्डमा क्षति पुगेको प्रहरीले जनाएको छ। रसुवागढी हाइड्रोपावरको ड्याम क्षतिग्रस्त छ।
त्यस्तै गोसाइँकुण्ड–पासाङल्हामु सडक अवरुद्ध भएको छ। उक्त सडकखण्ड चर्किएको र धुन्चेदेखि टिमुरेसम्म सवारी आवागामन ठप्प रहेको पनि प्रहरीले जनाएको छ।
बाढीका कारण २५० मेगावाटभन्दा बढी विद्युत् उत्पादन बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
त्यसैगरी रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा रहेका १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ ।