रसुवा । भोटेकोशी (त्रिशूली) नदीमा मंगलबार बिहान आएको बाढीका कारण रसुवास्थित कालिका सवस्टेसन (सरस) को ३३ केभी विद्युत लाइनको केही सेक्सन बगाएको छ ।
जसकारण चिलिमे सवस्टेसनबाट सञ्चालित रसुवागढी, चिलिमे र साञ्जेन फिडर पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।
नेपाल विद्युत प्राधिकरण रसुवाका अनुसार प्रभावित क्षेत्रका ग्राहकलाई अस्थायी रूपमा वैकल्पिक माध्यमबाट सेवा दिन प्रयास भइरहेको छ ।
कालिकाबाट सञ्चालित फिडरहरूलाई चिलिमे सवस्टेसनमार्फत सञ्चालन गर्ने तयारी भइरहेको छ भने चिलिमे र साञ्जेन फिडरलाई स्याफ्रु फिडरमार्फत सञ्चालन गरिने छ।
विद्युत आपूर्तिमा आएको असहजतालाई न्यून गर्न तत्काल अस्थायी व्यवस्थामा जुटेको प्राधिकरणले जनाएको छ ।