काठमाडौं । तिब्बती बौद्ध धर्मगुरु दलाई लामा आजबाट ९० वर्षमा प्रवेश गरेका छन् । तिब्बती समुदायले जुलाई ६ मा जन्मिएका लामाको जन्मोत्सव मनाइरहेका छन् ।
आइतबार आफ्नो ९० औं जन्मदिनको पूर्वसन्ध्यामा आफ्ना अनुयायीहरूले आफ्नो दीर्घायुको लागि प्रार्थना गर्न आयोजना गरेको समारोहमा उनले अझै ४० वर्ष बाँच्ने आशा व्यक्त गरेका छन् ।
हजारौंको प्रार्थनाको नेतृत्व गर्दै जब मन्त्र, ढोल र तुरहीको आवाज गुन्जिरहेको थियो । उनले भने,‘अहिलेसम्म, मैले मेरो सक्दो प्रयास गरेको छु र अवलोकितेश्वर (बौद्ध आध्यात्मिक रक्षक) को निरन्तर आशीर्वादले, म अझै ३० वा ४० वर्ष बाँच्ने आशा गर्दछु, चेतनशील प्राणीहरू र बुद्ध धर्मको सेवा गरिरहनेछु।’
नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायले आज आफ्ना धार्मिक नेता दलाई लामाको ९० औं जन्मदिन मनाउँदैछन् ।
भारतको धर्मशालामा शरण लिएर बसेका दलाई लामाले जन्मदिनको पूर्वसंन्ध्यामा भिडियो सन्देश जारी गरेका थिए । उनले आफ्नो मृत्युपश्चात् पनि तिब्बतमा धर्मगुरु चुनिने परम्परा जारी रहने दाबी गरेका छन् ।