कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा गएराति भएको एक सवारी दुर्घटनामा अटो चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
पुनर्वास नगरपालिका–१ स्थित अंशुवर्मा हुलाकी सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुपप्र ०१–०११ प ३४३२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सुपप्र ०१–००१ ह ४६०४ नम्बरको पेट्रोलियम अटो एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा अटो चालक पुनर्वास–२ मोतिबस्ती निवासी ५० वर्षीय दान सिंह गम्भीर घाइते भई उपचारका लागि माया मेट्रो अस्पताल, धनगढी लगिएको थियो। चिकित्सकले उनलाई राति १२स्१० बजे मृत घोषित गरेका छन् ।
मोटरसाइकल चालक पुनर्वास ४ ‘घ’ गाउँ निवासी २७ वर्षीय महेन्द्र शाही, अटोमा सवार पुनर्वास–२ निवासी २८ वर्षीय गोविन्द सिंह र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २९ वर्षीय कालु शाही घाइते भएका छन् ।
महेन्द्र शाही र गोविन्द सिंहको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ भने कालु शाहीको स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
सवारी साधन एकापसमा तीव्र गतिमा ठोक्किएको अनुमान गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।