काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को विवादित अभिव्यक्तिको विषयमा संसद बैठकमा स्पष्टीकरण दिएका छन् ।
आज संसद बैठकमा सभामुखसँग समय लिएर बोल्दै परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीको अभिव्यक्ति दशगजा अकुपेसनसँग सम्बन्धित रहेको बताए ।
उनले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे बोलेका हुन् । विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने मागसहित संसद अवरोध गर्दै आएका थिए ।
तर, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पहलमा परराष्ट्रमन्त्रीले जवाफ दिने सहमति भएसँगै आजको बैठक सञ्चालन भएको हो ।
संसद बैठकमा परराष्ट्रमन्त्री खनालले भने–‘प्रधानमन्त्रीज्यूको अभिव्यक्ति दशगजा अतिक्रमण र क्रस बोर्डर अकुपेशनसँग सम्बन्धित छ । एक देशका नागरिकले अर्को देशको जग्गामा खेतीपाती र बसोबास गरिरहेको अवस्थालाई उहाँले ईंगित गर्नुभएको हो । यसको समाधानका लागि नेपाल इन्डिया बाउन्ड्री वर्किङ ग्रुप र अन्य संयन्त्रले म्यापिङको काम गरिरहेका छन् ।’
विभिन्न अध्ययनले हाल नेपालको उपभोगमा रहेको जग्गा भारततर्फ र भारतको उपभोगमा रहेको जग्गा नेपालतर्फ रहेको देखाएको दाबी खनालले गरे ।
उनले सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै दुई देशबीच सीमाको नक्सांकन हुन बाँकी रहेको पनि संसद्लाई जानकारी दिए । उनले भने–‘ती स्थानबाहेक अन्य केही स्थानमा क्रस बोर्डर अकुपेसन तथा दशजगा अतिक्रमणको समस्याहरु विद्यमान छन् ।’
दुवै देशले सीमा सम्बन्धी विवाद आपसी संवाद र कूटनीतिक माध्यमबाटै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि उनले बताए ।
सीमा व्यवस्थित भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण, मर्मत, दशगजा अतिक्रमण अध्ययन गर्न दुई देशका प्राविधिक टोली क्रियाशील रहेको बताउँदै परराष्ट्रमन्त्री खनालले भने–‘लामो समयदेखि अवरुद्ध प्राविधिक टोलीको काम सीमा क्षेत्रमा क्रियाशील छ । र, संयुक्त रूपमा लगत संकलनको काम भइरहेको छ ।’