काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक ऋण कति पुग्यो भनेर हिसाब गरेर बस्ने भन्दा पनि साँवा ब्याज तिर्नका लागि पुग्ने ऋण लिने गरी बजेट आएको बताएका छन् ।
शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सार्वजनिक ऋणको स्रोतको विषयमा चिन्ता नगर्न आग्रह गरे ।
बजेट निर्माणका सिद्धान्तलाई अनुसरण गरेर बजेट आएको भन्दै स्रोत व्यवस्थापन गरेर राजस्वको अनुमान आगामी आर्थिक वर्षमा लक्ष्य हासिल हुने उनको विश्वास छ ।
अर्थमन्त्री पौडेलले लक्ष्य अनुसारको राजश्व संकलनको लागि थोरै मेहनत गर्न आवश्यक रहेको बताए ।
आर्थिक विज्ञबाट सकारात्मक सुझाव आएकाले आफू उत्साहित भएको भन्दै स्रोतलाई दुरुपयोग गर्न नदिने र खुद्रा योजनामा बजेट होसियार रहेको बताए ।
पौडेलले आगामी आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरी आएको जानकारी गराएका थिए ।