Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इमेज सहकारी ठगी प्रकरण : ढोरपाटनका मेयर नेपालीलाई थुनामा पठाउन अर्को आदेश

इमेज सहकारी ठगी प्रकरण : ढोरपाटनका मेयर नेपालीलाई थुनामा पठाउन अर्को आदेश

सोमवार , जेठ १३, २०८२

काठमाडौं । थुनामै रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि पुनः थुनामा राख्न आदेश भएको छ ।

कास्की जिल्ला अदालतले पोखरामा रहेको इमेज सहकारी ठगी अभियोगमा उनलाई थुनामा राख्न आदेश दिएको हो ।

सोमबार जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले उनलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

उनी जिल्ला कारागार बागलुङमा थुनामा थिए । त्यहाँबाट झिकाएर जिल्ला अदालत पोखराले सोमबार उनीसँग बयान लिएको थियो ।

यसअघि बिहीबार जिल्ला अदालत कास्कीले पोखराकै सूर्यदर्शन सहकारी प्रकरणमा नेपालीलाई धरौटी माग गर्ने आदेश गरेको थियो ।

न्यायाधीश कृष्णजंग शाहको इजलासले बागलुङ कारागारमा रहेका मेयर नेपालीलाई २० लाख धरौटी माग गर्ने आदेश गरेको थियो ।

नेपालीलाई ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले २०८१ असोजमा थुनामा पठाउने आदेश दिएको थियो ।

नेपालीले बागलुङ र पोखरामा गरी २ वटा इमेज बचत तथा ऋण सहकारी संस्था खोलेका थिए। दुवै सहकारीमा गरी नेपाली नेतृत्वमा २ अर्ब अपचलन भएको छानबिन प्रतिवेदनमा उल्लेख छ।

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रहेका नेपालीले उक्त सहकारीका तत्कालीन अध्यक्ष जिबी राइसँग विवाद भएपछि छाडेर इमेज सहकारी खोलेका थिए। ढोरपाटन नगरपालिकाका मेयर भएपछि पनि नेपाली दुवै ठाउँमा खुलेको इमेज सहकारीका अध्यक्ष थिए।

सहकारीमा बचत राखेका सर्वसाधारणले आफ्नो बचत फिर्ता माग्न थालेपछि नेपाली १६ महिना फरार भएका थिए। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०८१ असोज ११ गते भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077