काठमाडौं । भिजिट भिसाको सेटिङमा गृहमन्त्री रमेश लेखकको पद त धरापमा परेको छ नै गृहसचिव गोकर्णमणि दुवाडी पनि तनावमा छन् ।
गिरोहमाथि सुक्ष्म अनुसन्धान भए आफु पनि तानिने जोखिम भएपछि दुवाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीसँग हिमचिम बढाएका छन्।
अख्तियारको प्रारम्भिक छानविनले भिजिट भिसाको पैसा अध्यागमन विभाग, मन्त्रीको सचिवालय, गृहसचिव र कर्मचारी प्रशासन शाखामा जाने गरेको देखाएको छ ।
अझ अध्यागमनमा कर्मचारी खटनपटनको मुख्य जिम्मेवारी सचिवको हुने भएकाले पनि गृहसचिव दुवाडीमाथि नैतिक प्रश्न उठिसकेको छ।
स्रोतका अनुसार सचिवको अध्यागमनमा छुट्टै टिम थियो । सचिवालयमा राखेका अधिकृत आनन्द बुर्लाकोटीमार्फत उनले यस्तो सेटिङ मिलाउँथे ।
बुर्लाकोटी दुवाडीकै भान्जा हुन्। उनी कम्प्युटर अधिृकत हुन्। विगतमा दुवाडी भूमी मन्त्रालय अन्तर्गत हुँदा उनी पनि मालपोत विभागमा थिए। सचिवको आर्थिक गतिविधि उनीमार्फत नै हुने गरेको मन्त्रालयका एक अधिकारी बताउँछन् ।
यो प्रकरण बाहिर आएपछि सचिव दुवाडीको पनि पूर्वगृहसचिव टेकनारायण पाण्डेकै हालत हुने चर्चा गृह मन्त्रालयमा छ । सचिव पाण्डे नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल जेलमा छन्।
पाण्डे र दुवाडीका दुई संयोग छन्। दुवै जना भूमी मन्त्रालय पृष्ठभुमीका कर्मचारी हुन्। दुवैलाई एउटै समूहले गृह मन्त्रालय लगेको थियो।
कांग्रेस नेतृ आरजु देउवा र उनी निकट बिचौलियाको समूहले दुवाडीलाई गृहसचिव बनाएको स्रोत बताउँछ । दुवै जना ठूला काण्डमा मुछिएका छन्।