काठमाडौं । राप्रपाले आफ्ना नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनमा दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ।
पार्टीको केन्द्रीय पदाधिकारीको मंगलबार बसेको आकस्मिक बैठकले बोहराको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रकट गरेको हो ।
बोहराको निधनपछि मंगलबार बसेको बैठकले तीन दिनसम्म शोक मनाउने निर्णय गरेको बताइएको छ । यस अवधिमा पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटीस्तरका कार्यालयमा झण्डा आधा झुकाइनेछ र कुनै औपचारिक कार्यक्रम गरिने छैन ।
बैठकले बोहराको निधनले राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनमा ठूलो क्षति पुगेको निष्कर्ष निकालेको छ।
यसैबीच, बोहराको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि चैत २० गते आज दिउँसो २ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय चाबहिलमा राखिने भएको छ। त्यसै दिन पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने राप्रपाले जनाएको छ।