Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

कुलमानलाई हटाएपछि जलविद्युत आयोजनामा ८ अर्बको सेटिङ भएको झलनाथ खनालको दाबी

कुलमानलाई हटाएपछि जलविद्युत आयोजनामा ८ अर्बको सेटिङ भएको झलनाथ खनालको दाबी

सोमवार , चैत्र १७, २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जलविद्युत आयोजनाको पीपीएमा ८ अर्बको लेनदेन गर्न लागिएको दाबी गरेका छन् ।

आइतबार पार्टीनिकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएर पीपीएमा ८ अर्बको लेनदेन गर्न लागिएको दाबी गरेका हुन् ।

उनले अहिले देशव्यापी रुपमा भ्रष्टाचार नै भ्रष्टाचार रहेको र हरेक क्षेत्रमा सरकारका वरपर भ्रष्टाचारी भएको बताए । जसको पछिल्लो उदाहरण कुलमानलाई हटाउनु रहेको उनको दाबी छ ।

४ हजार मेगावाटका जलविद्युत योजनाहरूको पीपीए गर्ने बेला भएको बताउँदै उनले ६ देखि ८ अर्बको लेनदेन हुने आरोप लगाए ।

‘तीन महिना मात्रै कार्यकाल भएको कर्मचारीलाई यति जबरजस्ती रुपले निर्ममतापूर्वक, कायरतापूर्वक र स्वार्थपूर्ण ढंगले किन फ्याँकियो ? किनभने अहिले विद्युत प्राधिकरणबाट देशभर विकास गरिने जलविद्युत आयोजनाहरु छन्, त्यसमा कम्तिमा ४ हजार मेगावाटका जलविद्युत योजनाहरूको पीपीए गर्ने बेला भएको छ, बिजुली कतिमा किन्ने भनेर मोलतोल गर्ने बेलामा हो यो । त्यो बेलामा धेरै ठूला लेनदेनका कामहरु हुने गर्दछन् । त्यसमा ६ देखि ८ अर्बको लेनदेन हुनेवाला छ,’ उनले भने ।

यस्तै यसअघि नेकपा एसका नेता खनालले नेपाल नागरिक उड्यन प्राधिकरणको महानिर्देशक पदमा प्रदीप अधिकारीलाई नियुक्त गरेर गल्ती गरिएको स्वीकारेका थिए ।

अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अर्बौं घोटालामा मुछिएका छन् । उनलाई झलनाथहरु कै दबादमा प्राधिकरणको महानिर्देशक बनाइएको थियो ।

पोखरा विमान स्थलको लागत १२ अर्बबाट बढाएर २४ अर्बभन्दा बढी पुर्‍याएर अधिकारीले सबै नेताहरुलाई मिलाई ठूलो भ्रष्टाचार गरेका थिए । उनी पोखरा विमानस्थलको आयोजना प्रमुख हुँदा उक्त कार्य गरेका थिए ।

विद्युत् प्राधिकरणमा उपकार्यकारी निर्देशक र निर्देशकहरु हेरफेर

यता नेपाल विद्युत् प्राधिकरणले ११ र १२ औँ तहका उपकार्यकारी निर्देशक र निर्देशकहरुको हेरफेर गरेको छ । कार्यालयमा सेटिङका लागि आउने बित्तिकै कर्मचारीहरुको सरुवा गरिन लागिएको आरोप लागेको छ ।

१२ औं तहका प्रसारण निर्देशनालयका दीघायूकुमार श्रेष्ठलाई वितरण तथा ग्राहक सेवामा सरुवा गरिएको छ । गत पुस अन्तिम साता वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल सेवा निवृत्त भएपछि उक्त पद रिक्त थियो ।

त्यसैगरी प्रसारण निर्देशनालयअन्तर्गतको साविकको भार प्रेषण केन्द्र (हाल प्रणाली व्यवस्थापन विभाग) का निर्देशक चन्दन घोषलाई प्रणाली योजनामा र प्रणाली योजनाकी निर्देशक रञ्जु पाण्डेलाई घोषको ठाउँमा पठाइएको छ ।

यसैगरी बागमती प्रादेशिक कार्यालयका निर्देशक (प्राविधिक) नवराज ओझालाई व्यसाय विकास निर्देशनालय अन्तर्गत ऊर्जा दक्षमता तथा चुहावट नियन्त्रण विभागमा सरुवा गरिएको छ । ओझा वितरण तथा ग्राहक सेवाका निमित्त उपकार्यकारी निर्देशकसमेत थिए ।

ओझा रहेको ठाउँमा अर्का निर्देशक टेकनाथ तिवारीलाई लगिएको छ । गत चैत ११ गते सरकारले हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशकमा नियुक्त गरेपछि उनले सर्वप्रथम प्राधिकरणका प्रवक्ता फेरेका थिए ।

प्राधिकरणको साविकका प्रवक्ता घोषलाई हटाएर कार्यकारी निर्देशकको सचिवालयका निर्देशक राजाभाई शिल्पकारलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी कार्यकारी निर्देशकको सचिवालयकी अधिकृत यशोधा तामाङलाई पनि सरुवा गरिएको छ ।

यसअघि ऊर्जामन्त्री दीपक खड्काले १० तहदेखि माथिका कर्मचारीको सरुवा प्राधिकरण सञ्चालक समितिबाट गराउने गरी विनियमावली संशोधन गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077