अछाम । नेकपा एमाले अछामले ढकारी गाउँपालिका ८, पल्सांताका दुई किशोरीहरूको रहस्यमय मृत्युको सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।
शुक्रबार बाख्रा चराउन गएका १४ वर्षीया सरस्वती खड्का र ईश्वरी खड्का घर नफर्किएपछि खोजी गर्दा सुनघर सामुदायिक वन (छिन्ने ओडार जंगल) मा शनिबार मृत अवस्थामा फेला परेका थिए ।
सो घटनाले सबैलाई स्तब्ध बनाएको उल्लेख गर्दै एमाले अछामका अध्यक्ष चन्द्र बोहराले एक विज्ञप्ति जारी गर्दै सत्यतथ्य पत्ता लगाउन सूक्ष्म अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रह गरेका हुन् ।
उनले मृतक किशोरीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
बोहराले जारी गरेको विज्ञप्ति भनिएको छ, 'दर्दनाक घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ । यस घटनाको सूक्ष्म अनुसन्धान गरि सत्यतथ्य पत्ता लगाउन सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गर्दछौं । यो दुःखद घटनाका मृतक वहिनीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली साथै सोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।'
यता जिल्ला प्रहरी कार्यालय अछामले घटनाको सूक्ष्म अनुसन्धान थालेको छ । शवहरु घटनास्थलबाट उठाएर पोष्टमार्टमका लागि ल्याइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरको पनि प्रयोग गरिएको छ । यद्यपी अहिलेसम्म मृत्युको कारण भने खुल्न सकेको छैन ।