काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने थामलेकको महाभारत जंगलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
शुक्रबार दिउँसो आगो निभाउन हेलिकोप्टर प्रयोग गरिए पनि आगो निभाउन भने सकिएको छैन । आज दिउसो सिम्रिक एयरको हेलिकोप्टरबाट करिब २४ हजार लिटर पानी आगोलागी भएको क्षेत्रमा खन्याइएको बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए ।
अहिले पनि जंगलमा आगो दन्किरहेको छ । अध्यक्ष अधिकारीका अनुसार आज दिउँसो २४ पटक हेलिकोप्टरले पानी खन्याएको थियो । एक पटकमा एक हजार लिटर पानी बेथानचोककै वडा नम्बर २ स्थित एक पार्कबाट लिएर हेलिकोप्टरले आगोलागी भइरहेको क्षेत्रमा खन्याएको थियो ।
हाललाई बस्ती नजिक रहेको रमितेडाँडा, ज्वानेथुम्को लगायतका क्षेत्रमा आगो नियन्त्रण भएको उनले बताए । अन्य ठाउँमा आगो नियन्त्रणमा आउन सकेको छैन ।
गत मंगलबार दिउँसो २ बजेबाट सो क्षेत्रमा आगलागी भएको थियो । आगलागी भइरहेको क्षेत्रमा नेपाली सेनासहितको टोली परिचालन गरिएको छ ।
Leave a Reply