अछाम । चौरपाटी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाको जिम्मेवारी खोसिएको छ ।
संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बुधबारको निर्णयले उनको आर्थिक र प्रशासनिक जिम्मेवारी रद्द गरेको हो ।
उनी लामो समयदेखि राजनीतिक पहुँचका आधारमा सो गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएका थिए । उनीमाथि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई समेत आउन नदिएको आरोप लाग्ने गरेको थियो ।
केही महिना अगाडी मात्रै चौरपाटी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई पठाइएको थियो । तर उनलाई पालिकामा हाजिर हुन नदिएरै सरुवा गरिएको थियो । थापा स्वास्थ्य तर्फका छैठौ कर्मचारी हुन् । तर उनले आफूलाई सातौँ तहको कर्मचारी बताउने गरेको पनि आरोप छ ।
उनी पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । तर पालिकाको वेवसाइटमा उनको पद प्रमुख प्रशासकीय अधिकृत उल्लेख छ ।
यस्तै मंगलसेन नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीको जिम्मेवारी पनि रद्द गरिएको छ ।
Leave a Reply