काठमाडौँ । कानूनविपरीत खोला तथा नदीबाट उत्खनन् भइरहेका रोडा, ढुङ्गा, गिट्टी, बालुवा निकाल्न तत्काल बन्द गराउन सर्वोच्च अदालतले सरकारका नाममा पाँचबुँदे परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले देशभरि भइरहेको अवैध उत्खनन्मा संलग्नलाई कारबाहीको दायरामा ल्याइ तत्काल उत्खनन् बन्द गर्न गराउन परमादेश जारी गरेको हो ।
उक्त परमादेशमा नदीको संरक्षण गर्न एक छुट्टै नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोत (उत्खनन् तथा नियन्त्रण) ऐन तत्काल बनाइ लागू गर्न आदेश दिइएको छ ।
देशभरिका खोला तथा नदीमा भएको अवैध उत्खनन् रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएका थिए । तिनै रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले उक्त परमादेश जारी गरेको हो ।