काठमाडौं । सहकारी संस्थाहरूको बचत रकम अपचलन आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ । उनले पाँच फरक जिल्लाका पाँच वटा सहकारी अपचलनबारे बयान दिएका छन् ।
पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेविरूद्धको मुद्दा अबको १० दिनभित्र अदालत बुझाउनुपर्ने भएको छ।
कास्की, रूपन्देही, काठमाडौं, चितवन र पर्सा गरी पाँच वटा जिल्लामा छुट्टाछुट्टै सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ।
पाँचै वटा जिल्लाका सरकारी वकिल कार्यालयमा बयान लिइसकेको छ। हाल लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, लिला पछाई र नेचर हर्ब्स इन्टरनेशनल प्रालिका सञ्चालक रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन्।
लामिछानेलाई ५५ दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो। उनी कात्तिक २ गते पक्राउ परेका हुन्।
यो प्रकरणमा प्रहरीले सहकारी रकम बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरिरहेको हो।
पोखराको सूर्यदर्शन बचत सहकारीको दोस्रो चरणको अनुसन्धानका लागि सुरूमा प्रहरीले छविलाल जोशीलाई असोज ६ गते पक्राउ गरेको थियो।
सहकारी ठगीसम्बन्धी ऐनमा अभियुक्तलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइन्छ। संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐनमा अभियुक्तलाई ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने कानुनी प्रावधान छ।
सम्पत्ति शुद्धीकरणको समेत अनुसन्धान गरिरहेको हुँदा प्रहरीले उनीहरूलाई अधिकतम ९० दिन राखेर अनुसन्धान गर्न पाउँछ। उक्त समयभित्र अभियुक्तमाथि अनुसन्धान पूरा गरेर अदालतमा अभियोजन दर्ता गरिसक्नुपर्ने उनले बताइन्।
जोशी पक्राउ परेको ८० दिन भएको छ। त्यसअनुसार सरकारी वकिल कार्यालय कास्कीले अबको १० दिनमा मुद्दा कास्की जिल्ला अदालत समक्ष पेस गर्नुपर्ने बाध्यता छ।
सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले पनि अबको १० दिनभित्र मुद्दा पेस गर्ने बताइन्। मुद्दाको अभियोजन गर्नका लागि पनि प्रहरीले समयमै आफूहरूलाई प्रतिवेदन बुझाउने उनको भनाइ थियो।
उनले भनिन्–‘अब १० दिन बाँकी छ। प्रहरीले समयसीमाभित्रै हामीलाई प्रतिवेदन बुझाउँछ। कानुनले दिएको हदम्यादभित्र हामीले जसरी पनि मुद्दा अदालतमा पेस गर्छौं ।’
यस्तै रवि लामिछानेसहित प्रतिवादीहरूविरूद्ध अदालतबाट आइतबार लिएको म्याद पनि बुधबार सकिएको छ। त्यसैले उनीहरूलाई बिहीबार पुनः अदालतमा उपस्थित गराइने पनि काफ्लेले बताइन्।
पोखराको सूर्यदर्शन सहकारीका बचत पीडितले गत वर्ष माघ २२ गते दिएको किटानी जाहेरीका आधारमा प्रहरीले दोस्रो चरणको अनुसन्धान थालेको हो।
अहिले पोखराको सूर्यदर्शन, रूपन्देहीको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा र पर्साको सानो पाइला सहकारीको रकम अपचलन गरेको आरोप छ।
रास्वपा सरकारमा छँदा रविले आफू गृहमन्त्री हुँदाको लाभ लिँदै सहकारी ठगी प्रकरणको अनुसन्धान भए पनि आफूमाथिको अनुसन्धान भने शून्यप्रायः तुल्याएका थिए ।
कतिसम्म भने त्यतिबेला प्रहरी प्रमुख आईजीदेखि प्रधानमन्त्रीसम्मले सहकारीको रकम अपचलनमा रविको संलग्नता नरहेको टिप्पणी गर्नु परेको थियो । प्रहरी प्रमुख झिकाइएपछि संघीय संसदको राज्य व्यवस्था समितिमा प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले समेत अहिलेसम्म सहकारीको रकम अपचलनमा रविको संलग्नता नै रहेको जिकिर गरेका थिए ।
यहीबीचमा सहकारीको रकम अपचलनबारे छानबिन गर्न सूर्य थापाको नेतृत्वको संसदीय समिति गठन भयो । त्यही संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा कुँवर नेतृत्वकै प्रहरी टोलीलाई कारबाही स्वतन्त्र ढंगले अघि बढाउन सहज भयो ।
थापा नेतृत्वको उक्त समितिले ३१ भदौमा प्रतिवेदन बुझाउँदै रविसहित चार जनाको नामै किटेर कारबाही गर्नुपर्ने सिफारिस गर्यो । त्यसपछि आफैंले ‘क्लीन चिट’ दिएको व्यक्तिमाथि अनुसन्धान गर्नुपर्ने बाध्यता प्रहरी नेतृत्वमाथि आइलागेको थियो ।
कसरी बढ्छ मुद्दा ?
पोखराबाट रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर हुनेछ ।
सरकारी वकिल हुँदै मुद्दा दायर भएपछि अदालतमा हुने थुनछेक बयान र बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारणमा तारेखमा छाड्नेमध्ये एउटा आदेश आउनेछ ।
यदि उनी साधारण तारेख तथा धरौटीमा छुटेको अवस्थामा अन्य जिल्लाहरूमा पनि मुद्दा रहेकाले पुनः हिरासतमा रहनेरनरहने भन्ने अहिले नै भन्न नसकिने अभिवक्ताहरु बताउँछन् ।
ती अभिवक्ता भन्छन्–‘यदि रवि छुटेको अवस्थामा मागअनुसार अन्य जिल्लाहरूमा उपस्थित गराइनु पर्ने हुन्छ । त्यसैले त्यतिबेला मुद्दा कसरी अगाडी बढ्छ अहिले भन्न सकिने अवस्था छैन ।’
पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा र वीरगञ्जको सानोपाइला सहकारीबाट ८ अर्बभन्दा बढी रकम अपचलन भएको छ । यसमध्ये ६५ करोडभन्दा बढी रकम रवि गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध निर्देशक भएको १४ महिना अवधिमा आएको थियो । यही आरोपमा पक्राउ परेका उनी २ कात्तिकदेखि हिरासतमा छन् ।
Leave a Reply