Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

गृहकी उपसचिवद्वारा गृहमन्त्रीलाई चुनौती

गृहकी उपसचिवद्वारा गृहमन्त्रीलाई चुनौती

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत उपसचिव देवी पाण्डेको गत ४ कात्तिकमा गृह मन्त्रालयले एकल सरुवा गर्यो ।

कार्यसम्पादन कमजोर रहेको भन्दै उनलाई अवधि नपुगी सरुवा गरिएको थियो । तर, उनले मागेरै आफ्नो सरुवा भएको प्रचार गरिन् ।

सोलुखुम्बुबाट गृह मन्त्रालयमा हाजिर नहुँदै उनलाई नवलपरासीको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइयो । मन्त्रालयमै बस्न खोजेकी उनलाई गृहमन्त्री रमेश लेखकले नरुचाएपछि तत्कालै सरुवा गरिएको थियो ।

तर, यसरी पदस्थापन भएको एक महिना हुन लाग्दा पनि उनले जिम्मेवारी सम्हालेकी छैनन् । विभिन्न शक्तिकेन्द्रबाट दबाब दिएर गृह मन्त्रालयमै बस्न खोजेकी छिन् ।

उनको चलखेलबाट गृहसचिव गोकर्णमणि दुवाडी समेत हैरान भइसकेका छन् । जस कारण सचिवले पाण्डेको बिदा समेत अस्वीकृत गरिदिएका छन् ।

पाण्डे एमाले निकट कर्मचारीको रूपमा चिनिन्छिन् । तर, नारायणकाजी श्रेष्ठको शक्तिमा सोलुखुम्बुको सिडिओ भएकी थिइन् । त्यहाँबाट सरुवा भएपछि अर्को महत्वपूर्ण पोष्टिङका लागि उनको दौडधुप छ ।

जस कारण गृहमन्त्रीलाई समेत अटेर गरी खटाएको ठाउँमा गएकी छैनन् । रक्षामन्त्री मानवीर राईमार्फत अध्यागमन विभागमा बस्ने प्रयास गरेकी थिइन् । तर, त्यो प्रयास पनि असफल भएपछि उनी अन्य मन्त्रालयमा जाने तयारीमा लागेकी छिन् ।

एउटा उपसचिवले गृह मन्त्री र सचिवलाई समेत अटेर गरेर शक्तिकेन्द्रबाट गरेको चलखेल देखेर मन्त्रालयका अधिकारी समेत अचम्मित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077