Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • चौरपाटीको आग्रीखोलाबासीको दुखेसो – धारा बन्यो, २ वर्ष बित्दा पनि आएन पानी !

    चौरपाटीको आग्रीखोलाबासीको दुखेसो – धारा बन्यो, २ वर्ष बित्दा पनि आएन पानी !

    अध्यक्ष साउँद भन्छन् - पुस–माघ महिनाभित्रै पानी खुवाउँछु

    पूर्ण बहादुर साउँद
  • बिहिबार, २९ कार्तिक २०८१
  • 1.4K
    SHARES

    अछाम । अछामको चौरपाटी गाउँपालिका–१ स्थित आग्रीखोला टोलमा लिफ्ट खानेपानी आयोजना बनेको करिब दुई वर्ष बित्यो । गाउँपालिकाको बजेटमा २०७९ सालमा करिब १० लाखको लागतमा खानेपानी आयोजना बन्यो ।

    टोलको माथि डाँडामा करिब १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण भयो । टोलका केही घरका लागि चार वटा धारा पनि बने । अन्य घरमा पनि बिस्तारै धारा बनाउने तयारी थियो ।



    तर विद्युतका कारण अहिलेसम्म पनि बनेका ती धारामा पानी नआएको हो । वषौँदेखि पानी समस्या भोग्दै आएका आग्रीखोलाबासी खानेपानी आउने भएपछि खुशी भएका थिए । तर विडम्बना धारा बनेको दुई वर्ष हुँदा पनि धारामा पानी खसेन ।



    त्यस कारण यहाँका बासिन्दामा फेरि निराशा छाएको छ । बनेका धारा पनि भत्किने अवस्थामा पुगिसकेका छन् । सो टोलका बासिन्दा बर्खामा जेनतेन पानीको गुजारा चलाउँछन् । तर हिउँदमा भने खानेपानीको चरम अभाव भोग्दै आएका छन् ।

    हिउँदमा भने खानेपानीका लागि करिब दुई किलोमिटर टाढा जानु पर्ने बाध्यता छ । अहिले पनि टाढाको दुरीमा पुगेर पिठ्युँमा पानी बोकेर ल्याउन उनीहरू बाध्य छन् । एक घर एक धारा कार्यक्रम अन्तर्गत त्यस टोलका लागि लिफ्ट खानेपानी आयोजनाबाट रिखिछडाको पानी ल्याउने योजना बनाइएको थियो ।

    तर मेसिनले पानी नतानेपछि सुरुवातदेखि धारामा पानी आएको छैन । मेसिनलाई पानी तान्नको लागि विद्युतको ‘थ्री फेज’ लाइन आवश्यक छ । तर अहिलेसम्म पनि विद्युतको ‘थ्री फेज’ लाइनका लागि पालिकाले कुनै पनि सहयोग नगर्दा त्यहाँका बासिन्दाले खानेपानी पाउन सकेका छैनन् ।

    स्थानीय राम बहादुर साउँदले खानेपानीको धारा पुगेको दुई वर्ष बित्दा पनि पानी नआएको दुखेसो गरे । उनी धारा मात्रै बनाएर हुँदैन पानी आउनु पर्छ भन्दै सुरुदेखि नै माग गर्दै आएका थिए । तर आयोजना सम्पन्न भयो । धारा पनि बने । पानी आएन । राम बहादुरको माग पनि सुनुवाइ भएन ।

    फलस्वरूप दुई वर्षसम्म त्यहाँका स्थानीयले ती धारामा खानेपानी देख्न पाएका छैनन् । विभिन्न सरोकारवाला निकायलाई सो समस्याबारे जानकारी गराए पनि समाधान नभएको उनले बताए । अब सो धारामा खानेपानी आउँछ भन्ने विश्वास आफूमा नरहेको उनी सुनाउँछन् ।

    सो टोलमा पानीको अभावकै कारण मानिसहरूको बसाइसराइ हुन थालेको छ । खानेपानीको समस्याले गर्दा मानिसहरू तराई लगायत अन्यत्र बसाई सर्न थालेका छन् । जति सक्दो चाँडो खानेपानी चाहिँने त्यहाँका स्थानीयको माग छ । आफूहरूलाई पालिकाले सौतेनी व्यवहार गरेको स्थानीयहरूको आरोप छ ।

    हुनत चुनावको बेला सबै राजनीतिक दलको नजर आग्रीखोला टोलमा हुन्छ । तर चुनाव सकिएपछि सो टोलमा न कोही नेता फर्किन्छन् । न कोही राजनीतिक दलले त्यहाँको विकासबारे आवाज उठाउँछन् । सो ठाउँलाई राजनीतिक दलले भोट बैंकको रुपमा मात्रै प्रयोग गर्दै आएका छन् ।

    तर यता चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले सो खानेपानी योजना आफ्नो प्राथमिकतामा रहेको दाबी गरेका छन् । उनले मोटरका लागि ‘थ्री फेज’ लाइन आवश्यक भएको बताउँदै अबको केही समयमा त्यो ठाउँमा ‘थ्री फेज’को लाइन लिने काम थाल्ने बताए ।

    सो विषयमा विद्युतका हाकिमसँग पनि आफूले कुरा गरिसकेको उनको भनाई छ । उनले भने, “मैले त्यस ठाउँमा ‘थ्री फेज’ लाइन लिनेबारे विद्युतका हाकिमसँग कुरा गरिसकेको छु । डोटेगडा हुँदै त्यस ठाउँको पानीको मुहानमा लाइन लिँदा समस्या आयो । अब सिँधै गाउँबाट आग्रीखोला ‘थ्री फेज’ लाइन लिन्छौँ । अबको पुस–माघ महिनाभित्र त्यहाँको नागरिकलाई पानी खुवाउँछु ।”

    उनले पानी सञ्चालनमा ल्याइसकेपछि थप धाराहरू निर्माण गरिने जानकारी दिए । थप धाराहरू पनि यसै आर्थिक वर्षभित्र निर्माण गरिने उनको भनाई छ । अध्यक्ष साउँदका अनुसार विद्युतका पोल पालिकामा पुगिसकेका छन् भने तार मात्रै आउन बाँकी छ ।

    तारहरू आउने बित्तिकै आफूले पहिलो प्राथमिकताका साथ त्यहाँ काम गर्ने उनले बताए । उनले आफ्नो चुनावी बाचा पनि त्यो ठाउँका नागरिकलाई पानी खुवाउने रहेको बताउँदै अबको पुस–माघ महिनामै त्यहाँका बासिन्दालाई पानी खुवाउने दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार