धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर बिरामीलाई वितरण गर्ने बताएका छन्।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले इमानदार र लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकाले उत्पादित नयाँ चिकित्सकहरुलाई सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने बताए ।
नेपालको यही धर्तीबाट ऋषि चरकले स्वास्थ विज्ञानको थालनी गरेको सन्दर्भ उल्लेख गर्दै उनले सकभर निरोगी हुने र बिरामी भए सुलभ रूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको बताए ।
प्रधानमन्त्री ओलीले नेपाललाई बिरामीमुक्त देश बनाउने घोषणा गरे । उनले नयाँ-नयाँ क्यान्सर रोगहरू पत्ता लगाएर सफल उपचार विधि सफल बनाउन पनि चिकित्सकहरूलाई सुझाव दिएका छन्।
बिरामी अस्पताल निको हुने उद्देश्यले आउँछन्, त्यसैले बिरामीहरूलाई झर्केर होइन, राम्रो बोलेर उपचार गर्न चिकित्सकलाई प्रधानमन्त्री ओलीको सुझाव छ।