Online Nepal
  • शनिबार, २ चैत्र २०८१
  • टेलिकमको बिलिङ घोटालामा मुद्दा चलाउने अख्तियारको तयारी, रोकाउन बिचौलियाहरु सक्रिय

    टेलिकमको बिलिङ घोटालामा मुद्दा चलाउने अख्तियारको तयारी, रोकाउन बिचौलियाहरु सक्रिय

    अनलाइन नेपाल
  • मंगलबार, २० कार्तिक २०८१
  • 1.4K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको विलिङ सफ्टवेयरमा करोडौं आर्थिक घोटाला भएको अनुसन्धानका क्रममा पत्ता लगाएपछि विलिङको काम गर्दै आएको चिनियाँ कम्पनी एसिया इन्फोसँग सेटिङ गर्ने दर्जनौं कर्मचारीहरुमाथि मुद्दा चलाउने तयारी गरेको छ ।

    अख्तियारले विलिङ सफ्टवेयरदेखि मर्मतसम्भारको घोटालामा मुछिएका टेलिकमका झण्डै तीन दर्जन कर्मचारीको बयान लिइसकेको छ । बयान दिनेहरुमा पूर्व मुख्य सचिव बैकुण्ठ अर्याल, पूर्व सञ्चार सचिव हरि बस्याल, दुई सहसचिव, टेलिकम सञ्चालक समितिका पदाधिकारी र निमित्त प्रवन्ध निर्देशक संगीता पहाडीदेखि दर्जनौं कर्मचारीहरु रहेका छन् ।



    हालैमात्र प्रवन्ध निर्देशक बनेकी पहाडी र पूर्व प्रवन्ध निर्देशक तथा हालका डिएमडी डिल्लीराम अधिकारी दुवैजना बिलिङको मर्मतसम्भार ठेक्कासम्बन्धी प्रक्रियामा संलग्न रहेको अख्तियारको अनुसन्धानका क्रममा खुलेको छ ।

    त्यस्तै डिल्लीबजार कारागारमा रहेका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेलमाथि पनि विलिङ सप्mटवेयर घोटालामा मुद्दा चलाउने अख्तियारको तयारी छ ।

    प्रतिस्पर्धाबिना चिनियाँ कम्पनी एसिया इन्फोलाई दिएको बिलिङ प्रणाली मर्मतसम्भारको करिव ३ अर्ब १५ रुपैयाँको ठेक्कामा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान गरेको हो ।

    गतबर्ष भएको ठेक्का सम्झौताबाट एसिया इन्फोले बार्षिक मर्मत सम्भार (एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट–एएमसी)का नाममा करिब ६५ करोड रुपैयाँका दरले पाँच बर्षमा ३ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी पाउने निर्णयमा हालकी प्रवन्ध निर्देशक पहाडी र अधिकारीले हस्ताक्षर गरेका थिए । हस्ताक्षर गर्न लगाउने थिए, पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल ।

    एसिया इन्फोलाई बार्षिक मर्मत सम्भारमा ६५ करोड रुपैयाँ दिने ‘नेगोसिएसन’ कमिटीको प्रमुख थिइन् संगीता पहाडी । अख्तियार स्रोत भन्छ–‘छठ पर्वलगत्तै आयोगको बैठक राखेर बिलिङ प्रणाली मर्मतसम्भारको घोटालामा मुछिएका कर्मचारीहरुमाथि आम्दानीको बार्षिक ७ प्रतिशत नोक्सान पु¥याएको विगोसहित मुद्दा चलाउने तयारी छ ।’

    अख्तियारले मुद्दा चलाउने तयारी थालेपछि एसिया इन्फोका नेपाली एजेन्टहरु सल्बलाइसकेका छन् । स्रोतका अनुसार एसिया इन्फोका नेपाली एजेन्ट दीपक प्रधान र पहाडीका श्रीमान विश्वबन्धु पहाडीसमेत मुद्दा मिलाउन बालुवाटारका विचौलियादेखि अख्तियार प्रमुख प्रेमकुमार राईनिकटका व्यक्तिहरुलाई भेट्न सक्रिय छन् ।

    तिहारअघि मात्र प्रवन्ध निर्देशक पहाडीले एसिया इन्फोको रोकिएको ठूलो रकम भुक्तानी गरिदिएको टेलिकमका एक अधिकारीले बताए । टेलिकम स्रोत थप भन्छ–‘अख्तियार प्रमुख प्रेमकुमार राईले मुद्दा तामेलिमा राखिदिने बचन दिएको भन्दै चाँडै भुक्तानी गरिदिन पहाडीले सीटीओ र सीएफओलाई बोलाएर निर्देशन दिएकी थिइन् ।’ तर, अख्तियार स्रोतले भने प्रमुख आयुक्त राईले भुक्तानीको नाममा कसैलाई पनि फोन नगरेको दाबी गरेको छ ।

    एसिया इन्फोले रोकिएको भुक्तानी टेलिकमबाट पाएपछि मुद्दा रोकाउन बालुवाटार र सञ्चार मन्त्रालयदेखि अख्तियारसम्म लविङ गरिरहेको छ ।

    त्यस्तै अख्तियारले हालका डीएमडी डिल्ली अधिकारीलाई अर्को घुसकाण्डमा पनि कारबाही गर्ने तयारी गरेको छ । अधिकारीमाथि श्रीमतीको नाममा विदेशमा डलरमा घुस लिएकोलगायतका प्रकरणमा पनि अख्तियारले छानबिन गरिरहेको छ ।

    अधिकारीकी पत्नी इन्दु ढकालको नाममा जापानको ओसन टेक्नोलोजी लिमिटेडले घुसबापत हरेक महिना २ हजार ९ सय २४ डलर पठाएको भौचर फेला परेपछि उनी अख्तियारको छानबिनमा तानिएका थिए । तर प्रमाणसहित घुस लिएको पुष्टि हुँदा पनि अख्तियारले कारबाही गर्न बिलम्ब गरेपछि कतै एशिया इन्फोले यसमा पनि चलखेल गरेको आशंका गर्न थालिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार