म्याग्दी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ ।
यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर पितृतर्पण गर्न आउन नपाएकाहरु दसैँलगत्तै आउन थालेका हुन् ।
कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पण गर्नका लागि दैनिक सयौँको संख्यामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।
दिवंगत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि देशका विभिन्न जिल्लाका साथै भारतबाट धार्मिक तीर्थालु कागबेनी आउने गरेका पुजारी हिमाल सुवेदीले बताए । उनका अनुसार, दैनिक दुई सयभन्दा बढीले दिवङ्गत आफन्तको सम्झनामा कागबेनीमा श्राद्ध गर्ने र तर्पण दिने गरेका छन् ।
मुक्तिनाथ र दामोदरकुण्डबाट बगेर आउने कालीखोला र मुक्ति गण्डकीको संगम रहेको कागबेनी पितृतर्पणका लागि महत्वपूर्ण तीर्थस्थलका रुपमा मानिन्छ । कागबेनीमा बडादसैँ र चैते दसैँको औँशीमा हजारौँको संख्यामा पितृतर्पण गर्नेहरुको घुइँचो लाग्ने गरेको पुजारी सुवेदीले जानकारी दिए ।
Leave a Reply