Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • ठेकेदारको अत्याधिक चलखेलले टेलिकमको एमडी नियुक्ति प्रकृया अवरुद्ध

    ठेकेदारको अत्याधिक चलखेलले टेलिकमको एमडी नियुक्ति प्रकृया अवरुद्ध

    नयाँ प्रक्रियाका लागि महान्यायाधिवक्ताको कार्यालयसँग राय मागियो

    अनलाइन नेपाल
  • शुक्रबार, १४ भाद्र २०८१
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक(एमडी) नियुक्ति प्रकृया थप लम्बिने भएको छ । एमडी नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २२ जेठमा दरखास्त आह्वान खुलाएकोमा १७ जनाले आवेदन दिएका थिए ।

    त्यसमध्ये तीन जनालाई तत्कालित सञ्चार सचिव रामकृष्ण सुवेदी नेतृत्वको सिफारिस समितिले सर्टलिष्टमा राखेको थियो ।



    एमडी छान्न गठित सिफारिस समितिले डा. विमल आचार्य, अनिलकुमार झा र संगीता पहाडी (अर्याल) को नाम छानेर खामबन्दी गरेको थियो । तर, नयाँ सरकार गठनसँगै विचौलिया र ठेकेदारको चलखेल ह्वात्तै बढेपछि विहिबारको मन्त्रीपरिषद् बैठकले एमडी नियुक्ति गर्न सकेन ।



    स्रोतका अनुसार नेपाली सेना र टेलिकमको ठेक्कापट्टामा सक्रिय ठेकेदार लोकेन्द्र कार्कीले टेलिकमकै निमित्त प्रवन्ध निर्देशक संगीता पहाडीलाई एमडी बनाउन ठूलो आर्थिक चलखेल गरी उच्च राजनीतिक तहमा समेत लविङ गरेका कारण नियुक्ति प्रकृया अवरुद्धको अवस्थामा पुगेको छ ।

    ठेकेदार कार्कीले पछिल्लो समय बालुवाटारसम्म सम्बन्ध विस्तार गरेको हल्ला पिटाएर चलखेल गरिरहेको स्रोत बताउँछ । त्यस्तै संगीताका श्रीमान कर्णेल विश्वबन्धु पहाडी पनि सेनाको काम भन्दा श्रीमतीलाई एमडी बनाउन राजनीतिक दलका नेताहरुको घर धाइरहेको स्रोत बताउँछ ।

    उनी श्रीमतीलाई एमडी बनाउन कार्यालय समयमै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको कार्यकक्षमा पुगेर लविङ गर्दै आएको मन्त्रालयका एक उपसचिवले बताए । पहाडी एमाले महासचिव इश्वर पोखरेलदेखि प्रधानमन्त्री केपी शर्मा ओली निकट विचौलियासँग समेत पुग्ने गरेको स्रोत बताउँछ ।

    अघिल्लो पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका पालामा उल्लेखित तीन जनाको नाम छनौट गरिएकोमा हालको सरकारले उनीहरुमध्ये कसैलाई पनि नियुक्ति गर्न चाहिरहेको छैन ।

    किनकी तीनै जनाले तत्कालिन प्रधानमन्त्री प्रचण्डकी पुत्री गंगा दाहालदेखि सञ्चार मन्त्री रेखा शर्मासम्म चर्को लविङ गरि अन्य १४ जनालाई प्रतिस्पर्धामै आउन दिएका थिएनन् ।

    यो विषयमा पनि मन्त्रीपरिषद बैठकमा छलफल भएको स्रोतले बतायो । स्रोतका अनुसार नयाँ प्रकृयामा गएर आवेदन माग गरी एमडी छनौट गर्न मिल्ने कि नमिल्ने भन्ने बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयसँग आज (शुक्रबार) पत्र पठाएर राय माग गरेको छ ।

    महान्यायाधिवक्ताको कार्यालयले जवाफ पठाएपछि मात्रै एमडी नियुक्ति प्रकृया शुरु हुने मन्त्रालय स्रोतको भनाइ छ ।

    स्रोतका अनुसार नयाँ सरकार गठनपछि ठेकेदार कार्कीमार्फत संगीताका श्रीमान विश्वबन्धुले महान्यायाधिवक्ता रमेश वडालसँग भेट समेत गरिसकेका छन् ।

    महान्यायाधिवक्ता वडाल संगीताप्रति सकारात्मक रहेका कारण नयाँ प्रकृयामा नगई पुरानै प्रकृयाबाटै एमडी नियुक्ति गर्नुपर्ने राय पठाउने सम्भावना रहेको छ । यसका लागि संगीता नै उपयुक्त पात्र बन्न सक्ने टेलिकमका एक अधिकारी बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार