काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले कांग्रेस–एमाले मिलेर सरकार बनाउने कुरा संसदीय व्यवस्थामा नौटङ्की भएको बताएका छन् ।
आइतबार पार्टी कार्यालय आलोकनगरमा बोल्दै नेता खनालले यस्तो बताएका हुन्। नेता खनालले राष्ट्रिय सहमतिको सरकार भन्ने नितान्त फजुल कुरा बाहेक केहि नभएको बताए।
कांग्रेस–एमाले मिलेर सरकार बनाउने र केहि आफूलाई सुरक्षित गर्नुपर्छ भन्ने पार्टीहरुले साथ दिन सक्ने नेता खनालको भनाई छ।
उनले संसदीय व्यवस्थामा सामान्यतया बहुमत पुग्नेको सरकार बन्ने गरेपनि कुनै पनि देशका मुख्यमुख्य दुई ठूला दल मिलेर सरकार बनाउने कुरा संसदीय व्यवस्थामा नौटङ्की जस्तै रहेको टिप्पणी गरे ।
नेता खनालले नयाँ गठबन्धनमा सहभागी हुने कुनै गुञ्जायस नरहेको स्पष्ट पारे । नेता खनालले ठूला पार्टीका नेताहरुमा रहेका असक्षमता र अयोग्यताका कारण देश अस्थीरताबाट गुज्रिरहेको बताए।
उनले नयाँ सरकारको आधार स्पष्ट नभइसकेको अवस्थामा संविधान संशोधनको कुरालाई नियालिरहेको भन्दै एजेण्डाका आधारमा जोडदार प्रतिक्रिया आउने उल्लेख गरे।