Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्री रविको निर्देशन

    जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्री रविको निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, २२ असार २०८१
  • 570
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुन सक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    गृह मन्त्रालयमा भएको आपत्कालीन बैठकमा उनले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कताका साथ राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्च अधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए । बैठकमा सुरक्षा निकायका अधिकारीले हालसम्मको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।



    उपप्रधानमन्त्री लामिछानेले ‘कमान्ड पोस्ट’ र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विपद्बाट जनधनको क्षति हुन नदिन र खाद्यान्न, लत्ताकपडालगायत सामग्रीको अभाव हुन नदिन आग्रह गरे ।



    “हामीले सिंहदरबारमा बसेर क्षतिको विवरणबारे आमनागरिकलाई सूचना दिएर हाम्रो दायित्व पूरा हुँदैन । क्षति कम गर्न र उद्धारलगायत काममा हामीले कसरी काम गरेका छौँ भन्ने विषय महत्त्वपूर्ण हुन्छ,” गृहमन्त्री लामिछानेले भने, “हामीले बनाएका विपद् पूर्वतयारी योजना, निर्देशिका र कार्यविधिका कागजलाई व्यवहारमा उतार्ने समय आएको छ । हामीले हरेक व्यक्तिको ज्यान जाँदाको राज्यको एक सदस्य गुमाउनुपरेको अनुभूति लिएर काम गर्नुपर्ने हुन्छ ।”

    उनले पूर्वतयारीको योजनालाई कार्यान्वयनमा सघाउन राजनीतिक दल, सम्बन्धित निकाय र पक्षलाई आग्रह गरिसकेको जानकारी दिए ।

    बैठकमा गृहसचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका उच्च अधिकारीलगायत व्यक्तिको उपस्थिति थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार