Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । बुधबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएसँगै केही नदीहरूमा पानीको बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल नारायणी नदीमा पानीको बहाव बढेसँगै सतर्कता अपनाउन निर्देशन गरिएको छ । बाढीविद् जोशन महर्जनले चितवन आसपासका क्षेत्रमा भारी वर्षा भइरहेकाले त्यस क्षेत्र आसपासका नदी किनारमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको बताए ।

“हामीले मुलुकभर यतिबेला कहाँ कहाँ भारी वर्षा भइरहेको छ, कहाँ कहाँ नदीको सतह बढिरहेको छ, अवलोकन गरिरहेका छौँ”, उनले भने ।”

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिए ।

भारी वर्षाको सम्भावना भएको क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार उदयपुर, सिन्धुली, मकवानपुर चितवन, लमजुङ, कास्की, पर्वत, तनहुँ, स्याङ्जा आसपासका जिल्ला भई बहने स–साना नदीमा बहाव बढ्ने तथा केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको जनाएको छ ।

महाशाखाद्वारा जारी बुलेटिनमा बुधबार कमला नदीमा बहाव बढ्ने र नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको उल्लेख छ । आगामी तीन दिन कोशी र यसका प्रमुख सहायक नदी तमोर, अरुण, तामाकोशी, दूधकोशी तथा कन्काई र यसका सहायक नदीहरूमा जल सतह बढ्दै जाने पूर्वानुमान गरिएको छ ।

साथै इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, बाङलुङ, पाल्पा, गुल्मी, म्याग्दी, प्यूठान, रोल्पा, सल्यान, रुकुम–पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077