काठमाडौं । नेपाल प्रहरीका एसएसपी डा.दीपक श्रेष्ठले प्रहरी नेतृत्वले आफूलाई अन्यायपूर्वक अवकाश दिन लागेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् ।
डिआइजीको दरबन्दी करिब ५० दिनदेखि रिक्त राखेर आफूलाई २३ वर्ष सेवा अवधिमै अवकाश दिन लागेपछि श्रेष्ठले आक्रोश व्यक्त गरेका हुन् ।
एसएसपी श्रेष्ठले बुधबार फेसबुकमा लेखेका छन्– खड्गजित बराल, दुर्लभ थापा, डि. वि. लामा, अच्युतकृष्ण खरेल, ध्रुव बहादुर प्रधान सरहरू जस्तो आदरणीय व्यक्तित्वहरूले हाँकेको गौरवमय इतिहास बोकेको संगठनमा २०५८ मा प्रवेश गरेर आज २०८१ मा वदनियतिपुर्वक अवकाश दिँदा मन लागेको कुरा गौरवमय नेपाल प्रहरी संगठन पछिल्लो समयबाट’ नेपाल प्रहरी प्राइभेट कम्पनी लिमिटेड’मा परिणत भई अब प्रहरी महानिरीक्षक होइन कि सिइओले नेतृत्व गर्ने भएछ ।’
प्रहरी अस्पतालमा डिआइजीका दुई पद रिक्त छन् । जसमा एसएसपी श्रेष्ठ र सुवास आचार्य बढुवाका दाबेदार हुन् । एक साताभित्र बढुवा सिफारिस नभए उनीहरूले एसएसपीको ६ वर्षे पदावधिका कारण अवकाश पाउनेछन् ।
उनीहरूलाई अवकाशमा लगेर जुनियरलाई बढुवा गर्ने स्वार्थअनुसार यसरी लामो समय पद रिक्त राखिएको स्रोत बताउँछ । स्वार्थ मिलेको अवस्थामा भने पद रिक्त हुनुभन्दा अगाडि नै बढुवा हुने गरेको छ । गत १० असारमा एआइजी पद रिक्त नहुँदै डिआइजी पोषराज पोखरेललाई एआइजीमा बढुवा सिफारिस गरिएको थियो ।