काठमाडौं । सहसचिवबाट गत साता मात्रै सचिवमा बढुवा भएका खेमराज ज्ञवालीलाई सरकारले नायव महान्यायाधिवक्ता नियुक्त गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय सेवा आयोगको निर्णयलाई वैधानिकता दिने निर्णय गरेको हो ।
यस्तै बैठकले नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम सम्मेलनको ११२औं अधिवेशनमा सहभागी हुने राष्ट्रपति रामचन्द्र पौडेलको कार्यक्रमलाई स्वीकृत गरेको छ ।
बैठकले त्यसलगतै राष्ट्रपति पौडेलबाट हुने जर्मनी भ्रमणसमेत स्वीकृत गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
त्यस्तै याम बहादुर बुढा मगर र भद्रकाली पोखरेललाई बढुवा नियुक्त गरी न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिष्ट्रार पदमा पदस्थापन गर्ने निर्णय गरेको उनले जानकारी दिइन्।
मन्त्रिपरिषद् बैठकले वन दोस्रो संशोधन नियमावली २०८१ स्वीकृत गरेको छ भने तिलगंगा आँखा विश्वविद्यालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्।
Leave a Reply