काठमाडौं । जन्म मिति कीर्तेमा मुछिएका नेपाली सेनाका रथी अशोकराज सिग्देलविरुद्ध राष्ट्रपति कार्यालयमा समेत उजुरी परेको छ ।
सेनाको नेतृत्व तहमा पुगेका व्यक्ति नै विवादास्पद हुँदा सेनामै समस्या आउने भन्दै न्यायगत निर्णय गरिदिन भन्दै उजुरी परेको हो ।
सिग्देलमाथि उच्चस्तरीय न्यायिक समितिमार्फत छानविन गर्न माग गर्दै सूर्यविनायक ७ की कान्छीमाया तामाङको नाममा उजुरी परेको हो । जन्म मिति कीर्ते गरिएका प्रमाणसहित उजुरी परेको हो ।
सिग्देलको वास्तविक जन्ममिति २०२१–१२– १९ भएकोमा पछि २०२३–१०–१९ बनाइएको उल्लेख छ । रुपन्देहीको सिद्धार्थनगर–६ स्थायी घर भएका सिग्देलले सुरुमा रुपन्देहीबाटै नागरिकता लिएकोमा पछि जाजरकोटमा बसाई सरेर नागरिकताको प्रतिलिपि बनाएका थिए ।
त्यसरी प्रतिलिपि बनाउँदा उमेर घटाइएको थियो । जन्म मिति कीर्ते गर्नकै लागि उनले २०५८ सालमा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएका बताइन्छ । रुपन्देहीका मान्छेले जाजरकोटमा गएर प्रतिलिपि बनाउनुमै गलत नियत देखिने सैनिक अधिकारीहरू बताउँछन् ।
सिग्देलले अध्ययन गरेको सुपिङ क्याम्पसको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेख दर्ता नम्बर ७०४–८४ मा जन्ममिति २०२१ साल नै उल्लेख छ । पछि अभिलेखमै कीर्ते गरेर जन्ममिति सच्याएको प्रस्ट देखिएको छ । जून विषयमा गृह मन्त्रालयले समेत छानविन गरिरहेको छ ।
तर, गृहको छानविन प्रभावित पार्ने खेल भइरहेको स्रोत बताउँछ । सिग्देलले २०३९ सालको ८ फागुनमा प्रवेशिका परीक्षा दिएका थिए । त्यसमा पनि जन्ममिति २०२१ नै रहेको छ । नेपाली सेनामा व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रहरूमा फरक फरक जन्ममिति भएमा जून मितिबाट पहिला अवकाश हुन्छ त्यही मितिका आधारमा अवकाश दिने प्रावधान छ ।
जसअनुसार उनले यसअघि नै अवकाश पाइसक्ने अवस्था छ । यस्तै काण्डमा यसअघि ताराध्वज पाण्डे रथीमा बढुवा सिफारिस भइसकेपछि राजीनामा दिन बाध्य भएका थिए । सिग्देलविरुद्ध पनि उजुरी परेकोमा तत्कालीन रक्षामन्त्री पूर्णबहादुर खड्काले सिग्देललाई जोगाएका थिए ।
छानविनका लागि विभिन्न निकायमा उजुरी परेपनि सिग्देलमाथि शक्तिकेन्द्र धाएर रोक्दै आएको आरोप लागेको छ । विवादास्पद व्यक्तिलाई गौरवशाली संगठनको नेतृत्व सुम्पदा संगठनकै छविमा आँच आउने भन्दै यस विषयमा विस्तृत अध्ययन गरेर मात्र निर्णय गर्नुपर्ने माग सेनाभित्र हुँदै आएको छ ।
नेपाली सेनामा आगामी २४ भदौमा नेतृत्व परिवर्तन हुँदैछ । त्यसअघि नै सिग्देलको विषयमा विस्तृत छानविन हुन नसकेमा व्यक्तिको कारण सिंगो सेना बदनाम हुने अवस्था आएको छ ।