काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् ।
आज बसेको संसदीय दल कार्यसमिति र संसदीय दल बैठकपछि बोल्दै प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन् ।
प्रमुख सचेतक लेखकले भने,‘हामीले निरन्तर रूपले संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छौं। लाखौं नेपाली नागरिकको अर्बौं रकम सहकारीमा बचत गरिएको थियो। त्यो हिनामिना, दुरूपयोग ठगी र अपचलन भएको छ। बचतकर्ताको बचतको सुरक्षा ग्यारेन्टी गर्ने र जसको बचत हिनामिना भयो त्यो फिर्ता गर्ने र ठगी गर्ने विषयलाई छानबिन र संलग्नमाथि कारबाही गर्ने विषय थप पुष्टि हुँदै गएको छ।’
प्रमुख सचेतक लेखकले संसदीय छानबिन समिति चाहिन्छ भन्ने कुरा थप पुष्टि हुँदै गएको पनि बताए। सहकारीको रकम हिनामिना र ठगी गर्नेमा गृहमन्त्री लामिछाने संलग्न रहेको पर्याप्त प्रमाण पनि सार्वजनिक भएको उनको दाबी छ ।
सरकार सहकारी प्रकरण छानबिन गरी दोषीलाई कारबाही गर्नुको सट्टा सहकारी ठगीमा संलग्नलाई बचाउने काममा लागेको प्रमुख सचेतक लेखकको भनाइ छ। उनले बिहीबारको प्रतिनिधि सभा बैठक सञ्चालनलाई लिएर पनि गम्भीरतापूर्वक छलफल भएको बताए।