Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

५९ राजनीतिक दललाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले विभिन्न दलहरूलाई स्पष्टिकरण सोधेको छ। आयोगले लेखापरीक्षण प्रतिवेदन सम्बन्धमा ५९ राजनीतिक दलहरूलाई स्पष्टिकरण सोधेको हो ।

आयोगले यसपालिको लेखापरीक्षण समयमा नबुझाउने र समयमा बुझाएर पनि सार्वजनिक नगर्ने विभिन्न दलहरूलाई स्पष्टिकरण सोधेको हो।

आयोगले आज एक विज्ञप्ति जारी गरी स्पष्टिकरण सोधेको जानकारी गराएको हो । आयोगका अनुसार १५ दलहरूले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन बुझाएका छैनन्।

चुरेभावर लोकतान्त्रिक पार्टी, राष्ट्रिय एकता पार्टी प्रजातान्त्रिक, शिव सेना नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट), राष्ट्रवादी एकता पार्टी, राष्ट्रिय एकता मञ्च, हाम्रो नेपाल पार्टी लगायतका १५ पार्टीहरूलाई आयोगले सात दिने स्पष्टिकरण सोधेको हो।

त्यस्तै समय ब्यतित भएपछि पेस गर्ने १३ दलहरूलाई पनि आयोगले स्पष्टिकरण सोधेको छ।

समयमा लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने पार्टीहरूमा नेपाली कांग्रेस विपी, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी), समावेशी समाजवादी पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी लगायतका छन्।

गान्धीवादी पार्टी, नेपाल राष्ट्रवादी पार्टी, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, सामाजिक एकता पार्टी र साझा पार्टी नेपालले लगातार २ आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पेस नगरेको आयोगले जनाएको छ।

यी पार्टीलाई पनि स्पष्टिकरण सोधिएको आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए।

लगातार तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने पार्टीहरू आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिकलाई पनि आयोगले सात दिनभित्र स्पष्टिकरण बुझाउन भनेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण समयभित्र बुझाउने तर सार्वजनिक नगर्ने २० दल छन्।

मधेश तराई फोरम, नेपाल परिवार दल, नेपाः राष्ट्रिय पार्टी, त्रिमुल पार्टी, बहुजन पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, विवेकशील साझा पार्टी लगायत २० दललाई सात दिनभित्र लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरी त्यसको विवरण आयोगमा पेस गर्न आयोगले निर्देशन दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077