Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री लामिछानेलाई लिङ्देनको प्रश्न - भ्रष्टाचार गरेको छैन भनेर मन्दिर छिर्ने तागत छ ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले c रवि लामिछानेलाई एक रुपैयाँ भ्रष्टाचार गरेको छैन भनेर मन्दिर छिर्न चुनौती दिएका छन् ।

राप्रपाले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनपछि थापाथली चोकमा आयोजित सभामा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो चुनौती दिएका हुन् ।

उनले आफूहरूको शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग गरेर तागत देखाएको भन्दै उनले यो दिन यादमा राखिराख्ने चेतावनी दिए। ४० बुँदे माग राखेर राप्रपाले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो ।

भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि प्रहरीले रोक्दा झडप भएको थियो । प्रहरीले पानीको फोहोरा, अश्रुग्यासका साथै लाठीचार्ज गरेको थियो ।

अध्यक्ष लिङ्देनले गृहमन्त्रीको आदेशमा सांसदहरूमाथि समेत आक्रमण भएको बताए । उनले आफू मात्र जान्ने, आफू मात्र लोकप्रिय र आफू मात्र इमान्दार भन्ने भ्रम नपाल्ने गृहमन्त्रीलाई आग्रह गरे ।

उनले गृहमन्त्रीलाई चुनौती दिदैँ भने,'मैले भद्रकाली अगाडि उभिएर भनेको छु। यति लामो राजनीतिक यात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु । तपाईंले त्यो तागत राख्नुहुन्छ ? शान्तिपूर्ण प्रदर्शन गर्न दिनुस्। निषेधित क्षेत्र हटाउनुस्भन्दा राज्यशक्तिको तागत देखाएको भन्दै उनले भने, निहत्था मान्छेहरुमाथि आक्रमण गरेर देखिस् म गृहमन्त्री हुँ भनेर बहादुरी देखाउने ? तपाईंका दिन पनि हेरौंला।’

आफूहरु जनतालाई झुक्याएर नआएको भन्दै उनले राप्रपाले जितेको अवस्थामा अभिभावकका रुपमा राजा ल्याउने, प्रदेश तह खारेज गर्ने, ०४६ पछिका सबै नेताको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचारीहरुलाई जेल हाल्ने बताए ।

उनले सत्ताको दम्भ नदेखाउन गृहमन्त्री र प्रधानमन्त्रीलाई आग्रह गरे । यही व्यवहार गरेर आन्दोलन कठोर बनेर विद्रोहमा परिणत हुने लिङ्देनको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077