Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दरबार हत्याकाण्डबारे राप्रपा अध्यक्ष लिङ्देनको प्रश्न - पूर्वराजा ज्ञानेन्द्रमाथि छानबिन गरेर जेल कोच्ने हिम्मत छ ?

वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजदरबार हत्याकाण्डको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन ठूला दलहरुलाई चुनौती दिएका छन्।

बुधबार बिहान वीरगन्जमा बोल्दै अध्यक्ष लिङ्देनले ठूला दलहरुलाई यस्तो चुनौती दिएका हुन् । अध्यक्ष लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहको लोकप्रियताबाट अत्तालिएर ठूला दलहरुले दरबार हत्याकाण्डमा पूर्वराजालाई मुछ्ने गरेको बताए।

अध्यक्ष लिङ्देनले भने, ‘जब जब राजाको लोकप्रियता बढ्छ, तब तब ठूला दलहरुले राजालाई धम्क्याउन दरबार हत्याकाण्डमा राजालाई मुछ्दै आएका छन्। बारम्बार दरबार हत्याकाण्डसँग जोडेर पूर्वराजालाई धम्क्याउने र बदनाम गर्न खोज्नेहरुले हिम्मत छ भने छानबिन आयोग गठन गरेर सत्यतथ्य सार्वजनिक गरुन्।’

उनले शाह दोषी लागे दरबार हत्याकाण्डको किन छानबिन गरेनन् भन्दै प्रश्न गरे। अध्यक्ष लिङ्देनले गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लगायतका एजेन्डा लिएर अहिले राप्रपा जनताको बिचमा आएको बताए।

राप्रपाका यी मुद्दाको पक्षमा जनताको समर्थनपनि प्राप्त भइरहेको दाबी उनले गरे।

अध्यक्ष लिङ्देनले नेपालमा गणतन्त्र र संघीयताको खारेजी, राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापना नेपाली जनताकै बलमा हुनुपर्ने राप्रपाको मान्यता रहेको बताए।

यसमा कुनैपनि विदेशी शक्तिको हस्तक्षेप राप्रपालाई स्वीकार्य नहुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077