काठमाडौं । नेपाली कांग्रेसले सत्ता समीकरण फेरिए पनि कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्की नेतृत्वकै सरकारले निरन्तरता पाउने निष्कर्ष निकालेको छ।
आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भएको छलफलले सो निष्कर्ष निकालेको हो ।
सभापति निवासमा उपसभापतिद्वय पूर्णबहादु खड्का र धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक रमेश लेखक र मुख्यमन्त्री कार्कीसहितका नेता भेला भएका थिए ।
छलफलपछि महामन्त्री गगन कुमार थापाले प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ (५) अनुसार केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री बनेकाले यसको विकल्प नभएको निष्कर्ष निकालिएको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारको निरन्तरताको विकल्प नभएको बिफ्रिङ गरेका थिए । कार्की नेतृत्वको सरकारको विघटन र अविश्वासको प्रस्ताव ल्याउने विकल्प नै नरहेको कांग्रेसको निष्कर्ष छ ।
संविधानको धारा १६८ को २ र ३ प्रयोग असफल भएपछि असोज २७ मा केदार कार्की नेतृत्वको सरकार बनेको थियो । नयाँ सत्ता गठबन्धन बनेसँगै कोशी प्रदेश सरकारमा परेको संकटबारे नेपाली कांग्रेसले आन्तरिक छलफल थालेको हो ।
९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । नयाँ सत्ता गठबन्धनमा रहेका एमालेसँग ४०, माओवादीसँग १३, एकीकृत समाजवादीसँग ४ र जसपासँग १ गरी जम्मा ५८ सांसद छन् ।
त्यसैले कोशीमा एमाले–माओवादीसहितको गठबन्धन सहज अंक गणितमा देखिन्छन् । कोशी प्रदेशसभामा कांग्रेससँग २९ र राप्रपाका ६ गरी जम्मा ३५ सांसद छन् ।
Leave a Reply