Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्ड र नारायणकाजीले मेयर बालेनलाई पक्राउ गर्न खोजेको सिके राउतको खुलासा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सरकारले पक्राउ गर्न खोजेको खुलासा गरेका छन् ।

कान्तिपुर टेलिभिजनको 'फायरसाइड' कार्यक्रममा अन्तर्वार्ता दिँदै अध्यक्ष राउतले यस्तो खुलासा गरेका हुन् । सरकारविरुद्ध मेयर बालेनले स्ट्याटस लेखेपछि पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई पक्राउ गर्न खोजेको उनले सोमबार खुलासा गरे ।

गत भदौ दोस्रो साता पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि मेयर बालेनले सिंहदरबार जलाउने धम्की दिएका थिए । उनले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई चोरको संज्ञासमेत दिएर सामाजिक सञ्जालमा स्ट्याटस लेखेका थिए । सोही कारण सरकारले मेयर बालेनलाई पक्राउ गर्न खोजेको तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पक्राउ नगर्न भनेको पनि उनले अन्तर्वार्ताका क्रममा भनेका छन् ।

उनले त्यती बेला मेयर शाहलाई पक्राउ गर्न प्रचण्डले गोप्य बैठक डाकेको पनि उनको आरोप छ । उनले अन्तर्वार्तामा भनेका छन्, 'बडो गोप्य तरिकाले बैठक बसेको थियो। एजेन्डा थाहा थिएन । बैठकमा प्रधानसेनापतिदेखि प्रहरी प्रमुख र उपत्यकाका तीनैवटा जिल्ला सिडिओहरू थिए । त्यहाँ पुगेपछि उनले थाहा पाए, काठमाडौंका मेयर बालेन शाहले लेखेको स्ट्याटसका कारण उनलाई पक्राउ गरौं भनेर बैठक डाकिएको रहेछ ।'

सिंहदरबार जलाउने धम्की र सरकारलाई चोरको संज्ञा दिइएकाले क्रूद्ध बनेका प्रचण्डले उक्त बैठकमा राउतसँग सल्लाह मागे। के गर्ने भनेर सोधे। त्यति बेला काठमाडौं मेयरलाई कुनै हालतमा पक्राउ गर्न हुँदैन भनेर आफूले सल्लाह दिएको राउतले बताएका छन् ।

यस्तै उनले कांग्रेसका सभापति देउवाले पनि मेयर शाहलाई पक्रन हुँदैन भन्ने अडान राखेको बताए । उनी भन्छन्, 'लोकतन्त्र छ, यस्तो बोलिराख्छन् भनेर देउवाजीले भन्नुभयो । बोल्दैमा कहाँ आगो लगाइदियो त ! बोल्दैमा के हुन्छ ! बोल्न पाउनुपर्छ भन्ने उहाँको भनाइ थियो ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077