काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, कलंकीमा कार्यरत सर्वेक्षकसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले नापी सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको आरोपमा उनीहरु विरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
उनीहरुले सेवाग्राहीबाट घुस मागिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले सर्भेक्षक चौलागाई र लेखापढी काम गर्ने पोखरेललाई एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा लेखापढी काम गर्ने पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाटसमेत गरी जग्गाधनी पूर्जा उपलब्ध गराउनको लागि सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको र सो रकममध्ये सर्भेक्षक चौलागाईले जग्गा हालसाविकको काम गरिदिएवापत ५० हजार रुपैयाँ लिएको देखिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।
लेखापढी व्यवसायी पोखरेललाई एक लाख रुपैयाँ बिगो र बिगो बमोजिम जरिवाना तथा सर्भेक्षक चौलागाईलाई ५० हजार रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले बताए।