Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपप्रधानमन्त्री खड्कासँग नौसेनाध्यक्षको शिष्टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग अमेरिकाको एसिया–प्रशान्त कमान्डका नौसेनाध्यक्ष जोहन एक्विलिनोले शिष्टाचार भेट गरेका छन् ।

त्यसअवसरमा उपप्रधानमन्त्री खड्काले नेपाल र अमेरिकाबीच सन् १९४८ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर रहेको बताउँदै नेपालको विकासमा अमेरिकाले निरन्तर सहयोग गरेकामा आभार प्रकट गरे ।

उनले भविष्यमा अमेरिकी सहयोगको अझ वृद्धि हुने विश्वास व्यक्त गरेको रक्षामन्त्रीको निजी सचिवालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाका माध्यमबाट नेपालले विश्वशान्ति स्थापनामा निरन्तर योगदान गर्दै आएको र भविष्यमा पनि नेपालले सुरक्षाकर्मी परिचालन गरेर त्यसलाई निरन्तरता दिने प्रतिबद्धता मन्त्री खड्काले व्यक्त गरे ।

संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यमा धेरै सैनिक र महिला शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल पहिलो स्थानमा रहेको उनले नौसेनाध्यक्षलाई जानकारी दिए ।

रक्षामन्त्री खड्काले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालको भौतिक स्तरोन्नतिमा अमेरिकी सरकारबाट भएको सहयोग महत्वपूर्ण रहेको बताउँदै उक्त केन्द्रबाट संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न ठूलो सहयोग पुग्ने बताए ।

नौसेनाध्यक्ष एक्विलिनोले नेपाल र अमेरिकाबीचको सम्बन्ध र सहकार्य निरन्तर जारी रहने र भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077