Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्ययन नगरी धरानमा तत्काल हवाई मैदान बनाउन सकिँदैन : मन्त्री किराती

धरान । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मिहिन ढङ्गले अध्ययन नगरी सुनसरीको धरानमा तत्काल हवाईमैदान बनाउन नसकिने बताएका छन्।

सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको धरान एक्स्पो, २०८० को बिहीबार उद्घाटन गर्दै मन्त्री किरातीले राम्रोसँग अध्ययन नगरी बनाइएका कारण देशभर २२ हवाईमैदान अलपत्र अवस्थामा पुगेका बताए।

धरानमा पनि हवाईमैदानको सम्भाव्यताका लागि मिहिन ढङ्गले अध्ययन भइरहेको उनले बताए। प्राविधिकले धरानमा हवाईमैदानका लागि अध्ययन भइरहेको स्थानमा एकतर्फी मात्र उडान अवतरण गर्न मिल्ने जानकारी दिएको उनको भनाई छ।

मन्त्री किरातीले जहा उडान भर्न सकिन्छ कि सकिँदैन भन्ने बुझेर मात्र हवाईमैदान बनाउनुपर्नेमा उनको जोड थियो।

उनले धरानमा स्थानीय उत्पादन, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि धरान एक्स्पो आयोजना गरिएकाले सहभागी हुन सबैमा आग्रह गरे।

विकासका लागि धरान एक्लै अघि बढ्न नसक्ने उल्लेख गर्दै मन्त्री किरातीले धरानले चतरा, बराहक्षेत्र, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायत ठाउँका धार्मिक तथा पर्यटकीयस्थललाई ध्यानमा राखेर सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चन्डीराज ढकालले पछिल्लो समय व्यापार व्यवसाय धरासायी बनेकाले नीजि क्षेत्रलाई उकास्न राज्यले सहयोग गर्नुपर्ने जोड दिए।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य विजयकुमार राई र रमेश बस्नेत, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईलगायतले शुभकामना व्यक्त गरेका थिए।

एक्स्पोका आयोजक सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठका अनुसार हस्तकला, स्थानीय साधनस्रोतबाट उत्पादित वस्तु निकासी र पैठारी गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। यही फागुन २३ गतेसम्म सञ्चालन हुने सो एक्स्पोमा एक सय ५० कक्ष राखिएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077