काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले पत्रकार महासंघलाई नै चुनौति दिएका छन् । नेपालमा सही पत्रकारिता गर्नेको महासंघ नै नभएको दाबी गर्दै उनले पार्टीका पत्रकारहरुले भरिएको संस्था पत्रकार महासंघ हुन नसक्ने बताए ।
आज भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईले कांग्रेस, एमाले, माओवादीका पत्रकारहरु रहेको संस्था कसरी पत्रकार महासंघ हुनसक्छ भन्दै प्रश्न गरेका थिए ।
पत्रकार सम्मेलनमा प्रसाईले एक पत्रकारकी श्रीमतीले नबुझ्ने मान्छेलाई खाली चेकमा सही गर्न लगाएर आफैँले ठूलो अंक भरेर चेक बाउन्स गराएको कुरा आफूले सार्वजनिक गरेपछि उनका पत्रकार श्रीमानले धम्की दिएको पनि बताए ।
उनले भने–‘शान्ति तिवारी भन्ने एक जना महिलाले सो काम गरेको खुलासा गरेपछि मविरुद्ध साइबर ब्यूरोमा उजुरी गर्ने र पत्रकार महासंघबाट पत्र काट्ने धम्की आएको छ । तर, मलाई केही डर छैन ।’
अब मिसन मिडियाधारीहरु काम नलाग्ने भन्दै उनले भने –‘क पढ्न नजान्ने मान्छेको चेक लिएर जाने, बाउन्स गराउने, मिटरब्याजीमा लगाउने ? साइबर ब्यूरोले शान्तिलाई थुन्दो रहेछ कि दुर्गा प्रसाईँलाई थुन्दो रहेछ, शान्ति तिवारीको बुढा पत्रकार महासंघमा रहेछन्, मलाई पत्रकार महासंघले चिठी काट्ने रे । पत्रकार महासंघले पत्र काटेर मलाई के हुन्छ र तातो न भुत्लो, के को पत्रकार महासंघ मान्ने भएपो ।’
महासंघमा पार्टीका पत्रकारहरुको हावी भएको बताउँदै उनले भने–‘पत्रकार महासंघ कसको भन्ने थाहा छैन, कांग्रेसको पत्रकार महासंघ, एमालेको महासंघ रे, त्यस्तो पनि हुन्छ ? पत्रकार महासंघ नै छैन । सही पत्रकारिता आज तपाई युटुबर आएर बचाइदिनु भयो बच्यो, नभए यो मिसन मिडियाधारी यी काम लाग्दैनन् ।’
Leave a Reply