Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’कार्यक्रममा भ्रष्टाचार भएको पुष्टि, तत्कालीन सचिव र इञ्जिनियर दोषी ठहर

काठमाडौं । मधेस प्रदेशको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार भएको पुष्टि भएको छ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको हिजोको इजलासले भुसाल र झालाई दोषी ठहर गरेको हो ।

कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतले तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इञ्जिनियर भगवान झालाई दोषी ठहर गरेको छ ।

साइकल खरिदमा १० करोड ३३ लाखभन्दा बढी अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले दुवैलाई ३ महिना कैद र १० हजार रुपैयाँ जरिबाना तोकेको छ।

यसमा आरोपित ६ जनाले भने सफाइ पाएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७९ साउन १८ गते १० करोड ३३ लाख ७५८ रूपैयाँ हानिनोक्सानी पुगेको भन्दै ८ जनाविरूद्ध मुद्दा दायर गरेको थियो।

सहलेखापाल राजाराम मण्डल, भण्डार/जिन्सी शाखा प्रमुख बैठौराम स्वार्य महतो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास र साइकल बेच्ने एम/एस ओमसत्य साइ प्राली वीरगञ्जका सञ्चालक रेनु अग्रवालले सफाइ पाएका छन्।

अख्तियारले यसमा दुई मुद्दा दायर गरेको थियो। बोलपत्र मूल्यांकन समितिका पदाधिकारी तथा सदस्यहरू विरूद्ध पनि मुद्दा दायर भएको छ।

समिति अध्यक्ष तथा उपसचिव दिलिपकुमार प्रधान र अधिकृत आठौं सुरेन्द्रकुमार कर्णविरूद्ध पनि मुद्दा दायर भएको छ। उनीहरूले पनि सफाइ पाएका हुन्।

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत मधेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले साइकल खरिद गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077