काठमाडौं । १९९० सालको विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्न मंगलबार भूकम्प सुरक्षा दिवस मनाइँदै छ ।
भूकम्पले क्षति पुर्याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र संघसंस्थाले दिवसलाई जागरण फैलाउन दिनका रूपमा मनाउने गर्छन्।
मंगलबार ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं’ भन्ने मूल नाराका साथ २६ औं भूकम्प सुरक्षा दिवस मनाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
चन्द्रागिरी नगरपालिकामा भूकम्प सुरक्षा दिवस मूल समारोह हुने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरिक हुने प्राधिकरणले जनाएको छ।
संघीय राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षिता आवास निर्माणबारे आमनागरिकलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउदैँ आएको हो।
प्राधिकरणका उप–सचिव एवं प्रवक्ता ध्रुव बहादुर खड्काका अनुसार भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउनेभन्नेबारे प्रदर्शनी गरिनेछ। आजदेखि तीन दिनसम्म राष्ट्रिय गोष्ठी आयोजना हुनेछ। दिवसको सन्दर्भमा यही पुस २८ देखि माघ १५ सम्मसरकारी निकाय, संघसंस्थाहरूसँगको समन्वयमा विभिन्न कार्यक्रम निर्धारित रहेको प्रवक्ता खड्काले जानकारी दिए।
गृहमन्त्रीको अध्यक्षतामा दिवसको मूल समारोह समिति गठन गरिएको छ। उपत्यकाका तीन स्थान काठमाडौंको चन्द्रागिरी, ललितपुर र भक्तपुरमा मूख्य समारोह आयोजना हुनेछ।
विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ। उक्त दिन दिउँसो २ः२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो।