तनहुँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन्।
नेपाली कांग्रेस तनहुँले आयोजना गरेको जिल्ला सम्मेलन तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।
सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि दलबीच सहमति र सहकार्यको आवश्यकता रहेको बताए ।
उनले पार्टीलाई बलियो बनाउन पार्टीभित्र समझदारी र एकताको खाँचो रहेको पनि बताए । सभापति देउवाले भने,'पार्टीलाई बलियो बनाएर अघि जानुपर्छ । तबमात्र देशको ठूलो र शक्तिशाली पार्टी बन्न सकिन्छ ।'
सभापति देउवाले अहिलेको संविधानका कारण एउटै पार्टीको बहुमत आउने अवस्था नरहेकाले चुनावमा गठबन्धन गरेर जानुपरेको दाबी गरे। सभापति देउवाले देश अहिले महत्वपूर्ण मोडमा रहेको भन्दै अहिलेको गठबन्धनले संघीय गणतन्त्रलाई मजबुत बताउने काम गरेको दाबी गरे ।
अहिलेकै अवस्थामा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भन्दै उनले अन्य पार्टीहरूसँग सहमति र सम्झौता गरेर सरकार बनाउनुपर्ने आवश्यकता र बाध्यता रहेको बताए ।