काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था,हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश खारेजका लागि आन्दोलन गर्ने घोषणा गरेको छ। पुस १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा चलेको केन्द्रीय समिति बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो।
राप्रपाले विभिन्न जनजिविकाका मुद्दाका साथै राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि आन्दोलन गर्ने बताएको छ ।
आन्दोलनको तयारीका लागि पुष र माघमा देशैभर व्यापक सभा तथा तयारीका कामहरु हुनेछन् । फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय राप्रपाले गरेको छ ।
पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरिएको राप्रपाले जनाएको छ ।
राप्रपाले आन्दोलनका लागि अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ। समितिमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी, केन्द्रीय सदस्यहरु र आमन्त्रित केन्द्रीय सदस्यहरु रहनेछन्।
Leave a Reply