Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनका चिउरी पाखामा मौरी चराउँदै किसान

चितवन । चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् ।

चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ । रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुगेका छन् ।

‘तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौँ’, उनले भने, ‘फागुन अन्तिमसम्म मौरी यही राखिन्छ ।’ मौसमले साथ दियो भने दुई पटकसम्म चिउरीको मह काढ्ने बताए ।

चिउरीको मह नजम्ने भएका कारण उपभोक्तले धेरै खोज्ने गरेका छन् । विसं २०५६ देखि थापाले मौरी पाल्दै आएका छन्। ‘प्रत्येक वर्ष मौरी चराउन विभिन्न स्थानमा गइरहनुपर्छ,’ उनले भने।

मौरीको चरन क्षेत्र र महको बजारीकरणको समस्या रहेको किसान बताउँछन्। चरन क्षेत्रमा पनि जङ्गली जनावरले दुःख दिने गरेको छ। मौसम अनुकूल भएमा एक वर्षमा चार पटकसम्म मह काढिने थापाले बताए। ‘मौरी पालेर परिवार ढुक्कसँग पालिएको छ। जिन्दगीको सबैभन्दा आनन्द यही हो,’ थापाले भने।

चितवनको कालिका नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका विभिन्न वडामा चिउरीको बाक्लो जङ्गल छ। यहाँ यो सिजनमा मात्रै झण्डै ३० हजार घार मौरी चराउनका लागि ल्याउने गरिएको नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिवप्रसाद पौडेलले बताए।

यहाँ चितवनसँगै मकवानपुर, रौतहट, नवलपरासी, रुपन्देही, दाङलगायत जिल्लाका किसानले पनि मौरी ल्याउने गरेका छन्। जङ्गली फूलमा र विषादी नहुने भएकाले चिउरीमा मौरी चराइने गरिएको हो । चिउरीमा चरेका मौरीको मह नेपालबाहेक अरु देशमा नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने पूर्वअध्यक्ष पौडेल बताउछन्।

नेपालमा सेरेना र मेलीफेरा मौरीपालन हुने गरेको छ। व्यावसायिक रुपमा भने मेलिफेराको पालिन्छ। चितवन मौरीपालनको उर्वर भूमि हो जहाँ पाँच सयभन्दा बढी व्यावसायिक मौरीपालक किसान छन्। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077