काठमाडौं । भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन् ।
प्रसाईंको पक्षबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।
भण्डारीले प्रसाईँ आफैँले सुरू गरेको अभियानमा सहभागी हुन नपाउने गरी संविधानको धारा १७ ले प्रदत्त गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी अधिकारमा समेत आघात पुर्याइएको रिटमा दाबी गरिएको छ ।
राजनैतिक विचार राख्न नपाइने गरी कसैलाई पनि नियन्त्रणमा लिन, निगरानीमा राख्ने थुनामा राख्न नपाइने रिटमा उल्लेख छ ।
सरकारका कामकारबाही चित्त नबुझे शान्तिपूर्णरूपमा विरोध गर्न पाउने नागरिकको मौलिक हकलाई सम्मान गर्नुको सट्टा निवेदकलाई गैरकानूनी रूपमा निगरानीमा राख्ने, थुनामा राख्ने र विभिन्न झुट्ठा मुद्दा लगाई फसाउने सम्मको सम्भावना भएकोले आतंकित र त्रसित सिर्जना भएको भण्डारीको रिटमा लेखिएको छ ।
बिहीबार राजधानीको बल्खुमा केन्द्रित रहेर विरोध प्रदर्शन आयोजना गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, प्रसाईंलाई भने स्थानीय प्रशासनले घरबाट बाहिर निस्किन दिएको छैन ।
Leave a Reply