Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • बालेन प्रकरणमा काठमाडौं प्रशासनले भन्यो – राष्ट्रसेवक कर्मचारीलाई अवरोध नपुर्‍याउनू

    बालेन प्रकरणमा काठमाडौं प्रशासनले भन्यो – राष्ट्रसेवक कर्मचारीलाई अवरोध नपुर्‍याउनू

    अनलाइन नेपाल
  • सोमबार, १८ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सामाजिक सञ्जालमा गरेको उत्तेजक टिप्पणीपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ।

    सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै जथाभावी वक्तव्यबाजी नगर्न अनुरोध गरेका हुन् । श्रेष्ठले राष्ट्रसेवक कर्मचारी वा सुरक्षाकर्मीलाई कर्तव्य पालनामा बाधा नपुर्‍याउन र सामाजिक सन्जालमा जथाभावी वक्तव्यबाजी नगर्न सबैलाई अनुरोध गरेका छन् ।



    आइतबार बालेनको सचिवालयले विज्ञप्ति निकालेर पटकपटक आम सर्वसाधारण जनताले प्रहरी प्रशासनबाट यस्ता व्यवहार र सास्ती खेप्नु परेको र सम्बन्धित निकायबाट यस्तो प्रवृत्तिको अन्त्य गर्न कोही कहिले अग्रसर नदेखिएको आरोप लगाइएको थियो ।



    सोही विषयमा मुख खोल्दै प्रशासनले ध्यानाकर्षण भएको जनाएको हो । शनिबार राति कोटेश्वरमा श्रीमती चढेको गाडीलाई प्रहरीले केरकार गरेको भन्दै आक्रोशित भएका बालेनले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई समेत फोन गरेर आक्रोश पोखेका थिए । लगत्तै उनले सिंहदरबारमा आगो लगाइदिने भन्दै धम्कीपूर्ण स्टाटस सामाजिक सन्जालमा राखेका थिए ।

    विज्ञप्तिमा भनिएको छ, ‘सरकारी कामका लागि बिदाका दिनमा सरकारी सवारी साधन प्रयोग गर्नुपर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था रहेको छ । यसबाट निजी काममा सरकारी सवारी साधनको प्रयोगमा कमी आई मितव्ययिता अभिवृद्धि गर्न मद्दत पुगेको कुरा निर्विवाद छ । गृह मन्त्रालयको निर्देशन अनुसार सरकारी स्रोत साधनको दुरुपयोग नियन्त्रणका लागि स्थानीय प्रशासन निरन्तर क्रियाशील रहेको छ र भविष्यमा समेत दृढतापूर्वक यो नीति कार्यान्वयन गरिने छ ।’

    जारी विज्ञप्तिमा सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक बिदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरु मार्फत् विगतदेखि नै हुँदै आएको स्मरण गराइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार