काठमाडौं । नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयन गरे सरकारसंगको सहकार्य तोड्ने चेतावनी दिएका छन् ।
विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समाजवादी मोर्चा र नेकपा माओवादी केन्द्रसँग समेत सहकार्य तोड्नेसम्मको चेतावनी दिएका हुन् ।
प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार गएका विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरेका थिए ।
तर जवाफमा प्रधानमन्त्री प्रचण्डले एमसीसी कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने जवाफ दिएको थिए । एमसिसीको विवादले समाजवादी मोर्चामा खटपट देखिएको छ ।
सोहीको नतिजास्वरूप मोर्चाको धनगढीमा आजका लागि तय सन्देशसभा स्थगित भएको स्रोतको दाबी छ । आज धनगढीमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीलगायतले सम्बोधन कार्यक्रम तय भएको थियो ।
आज एमसीसी कार्यान्वयनमा जाँदैछ । तर, एमसीसी कार्यान्वयनमा सरकार जाने भएपछि आफूहरू सँगै सभामा जान नसक्ने विप्लवले अडान लिएपछि आजको सभा स्थगित भएको बताइएको छ । राष्ट्रिय स्वाधिनताको कुरा छाडेर घोषणापत्रको मूल मर्मविपरीत अघि बढ्न खोजेपछि सँगै सभामा जान नसकिएको विप्लवले बताएका छन् ।
Leave a Reply