Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • भक्तपुरको बाल सुधारगृहबाट एकैपटक २२१ जना बालबालीका फरार, प्रहरीको क्षमतामाथि प्रश्न

    भक्तपुरको बाल सुधारगृहबाट एकैपटक २२१ जना बालबालीका फरार, प्रहरीको क्षमतामाथि प्रश्न

    ६ बन्दी र १२ सुरक्षाकर्मी घाइते

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । भक्तपुरको बालसुधार गृहमा रहेका २२१ जना बालबालिका एकैपटक फरार भएका छन् । विभिन्न कसुरमा दोषी ठहर भई पुर्पक्षमा रहेका उनीहरू सुधारगृहबाट फरार भएका हुन् ।

    आइतबार सुधारगृहमा रहेका एक जनाको मृत्यु भएपछि आफन्तहरू विरोधमा उत्रिएको मौकामा सुधारगृहका झ्याल र पर्खाल फुटाएर उनीहरू आज भागेका हुन् ।



    बलात्कारको आरोपमा मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहेका एक युवकको आइतबार सुधार गृहमा मृत्यु भएपछि तनाव भएको थियो ।



    रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी र तोडफोड गरेका थिए । त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदी फरार भएका हुन् । भागेकामध्ये १५९ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिइसकेको जनाएको छ ।

    यद्यपी प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले भने कति भागे भन्ने यकिन भइसकेको बताएका छन् । सुधार गृहमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका २९९ जना थिए । तीमध्ये २५६ जना पुरुष थिए ।

    भागेका बालबालिकालाई नियन्त्रणमा लिन उपत्यकाका ३ वटै जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ । भक्तपुर प्रहरीको कमजोर कमाण्डका कारण बालबालिकाहरु भागेको भन्दै प्रहरीकै विरोध शुरु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका प्रहरी उपरिक्षक (एसपी) प्रजित केसीको कमजोर कमाण्डिङ क्षमताका कारण सुधारगृहबाट बालबालिका भागेको भन्दै प्रहरी अधिकारीहरुले नै प्रश्न उठाइरहेका छन् ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी श्याम ज्ञवाली विदामा बसेका बेला भक्तपुरमा भएको यो घटनाले प्रहरीको क्षमतामाथि प्रश्न उठाएको हो । रानीपोखरीमा अहिले डिआईजी लालमणी आचार्य निमित्त प्रमुख छन् ।

    श्याम ज्ञवालीलाई सरुवा गरेर दिपक थापालाई जिम्मेवारी दिइएको छ तर, थापा हाजिर भइसकेका छैनन् । यस्तो बेला सुधारगृहबाट एकै पटक २०० भन्दा बढी बालबालिका फरार हुनु संयोग मात्र मान्न नसकिने प्रहरी अधिकारीहरु बताउँछन् ।

    ६ बन्दी र १२ सुरक्षाकर्मी घाइते
    बाल सुधारगृहमा बन्दी बालबालिकाहरूको प्रदर्शनको क्रममा झडप हुँदा ६ जना बन्दी र १२ जना सुरक्षाकर्मी घाइते भएका छन् । सुधार गृहको गेट तोडफोड गरी सोमबार दिउँसो ठूलो संख्यामा बन्दीहरू भाला, खुकुरी लगायतका हतियार बोकेर प्रदशर्न गरेका थिए ।

    सोही क्रममा सुरक्षाकर्मीसँग झडप हुँदा ६ जना बन्दी र प्रहरी निरीक्षक सञ्जीव ओलीसहित १२ जना सुरक्षाकर्मी घाइते भएका हुन् । ओलीको अहिले मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ ।

    यस्तै घाइते बन्दीमध्ये एक जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । अन्यलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि पठाइएको छ ।

    मृत्युबारे छानबिन गर्न समिति गठन
    बस्नेतको मृत्युबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन् ।

    समितिमा जिल्ला प्रहरी परिसर, भक्तपुरका डीएसपी वसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहने रिजालले बताए ।

    समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकेका भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले मृतकका परिवारसँग पनि छलफल भएको तथा सत्यतथ्य अनुसन्धान गर्ने र उनीहरुको जाहेरी प्रहरीले दर्ता गर्ने सहमति भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार