काठमाडौं । हङकङबाट मोटरसाइकलमा राख्ने ब्रेक सुमा हालेर ल्याइएको करिब ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकसँग भारतीय आधार कार्ड पनि फेला परेको छ ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले पक्राउ परेका मध्ये दुईजनासँग भारतीय आधार कार्ड रहेको पाइएको जानकारी दिए ।
तीन चिनियासँग भने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट जारी गरिएको नागरिकता र एकजनासँग जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको नागकिरता फेला परेको पनि उनले बताए ।
हालसम्म उनीहरूसहित २३ जनालाई सुन तस्करी प्रकरणमा पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ ।
गएको साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुनसहित १५५ किलो रहेको ब्रेक सु राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । दुई हप्ताको अनुसन्धानपछि थप अनुसन्धानका लागि विभागले प्रहरीको सीआईबीलाई फाइल हस्तान्तरण गरेको थियो । रासस
Leave a Reply