धनगढी । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेटमा लगानी बढाउनुपर्ने बताएका छन् ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको साधारण सभामा बोल्दै अध्यक्ष चन्दले यस्तो बताएका हुन् । अध्यक्ष चन्दले नेपाली खेलकुदमध्ये सबैभन्दा धेरै लगानी क्रिकेटमा लगाउन आवश्यक रहेको बताए ।
अध्यक्ष चन्दले भने,‘आईसीसीले नेपाली क्रिकेटको क्रेजलाई नजिकबाट नियालिरहेको छ त्यसैले यो स्वर्णिम अवसरलाई समयमै हामीले सदुपयोग गर्नुपर्नेछ।’
उनले क्रिकेटले मात्रै तत्काल विश्वकप खेल्न सम्भव भएको हुँदा सरकारले लगानी बढाउनु पर्ने बताए । उनले नेपाली क्रिकेटलाई विश्वले चिनिसकेकाले भन्दै आगामी दिनमा खेल उत्कृष्ट बनाउनको लागि लगानी बढाउनु पर्ने बताए ।
उनले नेपाली क्रिकेटलाई विश्वले चिनिसकेको भन्दै अब उत्कृष्टताका लागि राज्यले विशेष पहल थाल्नुपर्ने धारणा राखे ।
सन २०२४ मा अमेरिका र वेस्टइण्डिजमा संयुक्त रूपमा आयोजना हुने टी-ट्वाण्टी विश्वकप एसिया क्वालिफायरको आयोजना गर्ने जिम्मा नेपाललाई दिनु, सन २०२७ मा यु–१७ महिला विश्वकपको सह आयोजक नेपाललाई बनाइनुले पनि नेपालको गरिमा बढेको अध्यक्ष चन्दको भनाइ छ ।
नेपालमा क्रिकेट क्रेज देखेर विश्वका अधिकांश देशहरू नेपाल आउन चाहेपनी सुरक्षा सहितको स्टेडियम बनाउन नसक्दा त्यो सम्भव नभएको उनले दाबी गरे ।